प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै
चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
चीनले काठमाण्डौ बसन्तपुरको नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको छ ।
यसै अवसरमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उहाँहरूबीच कुराकानी भएको छ । यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) र चीनमा रहेको नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया