गौरादह-१ मा ढाकी तथा मकैको खोस्टाबाट फूल बनाउने १४ दिने सीप विकास तालिम सुरू
गौरादह, ७ चैत – गौरादह-१ मा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले ढाकी तथा मकैको खोस्टाबाट फूल बनाउने १४ दिने सीप विकास तालिम सुरू भएको छ। श्री जानकीश्वर सृजनशील महिला समूहको आयोजनामा जानकीश्वर मन्दिर सभा हलमा सुरु भएको सो तालिममा नगर प्रमुख, वडा अध्यक्ष, स्थानीय समाजसेवी तथा महिलाहरूको उल्लेखनीय उपस्थिति थियो।
तालिमको उद्घाटन गर्दै गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले मौलिक नेपालीपन झल्कने यस्ता सीपमूलक कार्यक्रमहरूलाई नगरपालिका स्तरबाट आवश्यक सहयोग गरिने बताए। वडाध्यक्ष नगेन्द्र भण्डारीले महिला सशक्तिकरणका लागि सीप विकास आवश्यक रहेको उल्लेख गर्दै, नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
संस्थाकी अध्यक्ष अम्बिका पोडेलका अनुसार ढाकी र मकईको खोस्टाबाट उत्पादन गरिएका हस्तकलाका सामग्रीहरू काठमाडौं लगायत अन्य सहरहरूमा बिक्री भइसकेका छन्। "यो व्यवसायमा लगानी कम, मेहनत बढी र फाइदा धेरै छ," उनले भनिन्। कार्यक्रममा समाजसेवी सुरेश ब. पोडेलले तालिमलाई अझ व्यावसायिक बनाउँदै बजार प्रवर्द्धन गर्नुपर्ने धारणा राखे।
तालिममा आमा हस्तकला प्रशिक्षण केन्द्र, ललितपुरका प्रशिक्षकहरू तारा थापा र कल्पना मगरले सहभागीहरूलाई प्रशिक्षण दिइरहेका छन्। कार्यक्रमको सञ्चालन संस्था सचिव अनुषा बजगाईंले गरेकी थिइन् भने स्वागत मन्तव्य निर्मला बजगाईंले दिएकी थिइन्।
स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी बनाउँदै आर्थिक सशक्तिकरणको दिशामा अघि बढाउने उद्देश्यले सञ्चालन गरिएको यो तालिम प्रभावकारी हुने आयोजकको विश्वास छ।
प्रतिक्रिया