d

हजार पटकको गाली

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बादशाहको शासन । शहरमा काजीको मनोमानी चल्थ्यो । नसरुद्दीन होजाको शहरका काजी पनि मनमानी किसिमका थिए । उनीसामु कुनै समस्याहरु पेश हुँदा कुरा राम्रोसँग नसुनिकन, राम्रो छानविन नगरिकनै फैसला सुनाइदिन्थे । वास्तवमा को दोषी, को निर्दोष– उनले थाहा पाइराख्नु जरुरी नै ठान्दैन थिए । मनमा जे आए, त्यही फैसला सुनाइदिन्थे । काजी अर्थात् शहरका सबैभन्दा ठूला प्रशासक, न्यायाधिकारी । उनको फैसला गर्ने यो मनोमानी तरिकाले सबैभन्दा पीडित गरिबदुःखीहरु नै हुने गर्थे । एक पटक स्वयं होजा पनि ती काजीको यस्तै मनोमानी फैसलाको शिकार बने । भयो के भने, एक दिन होजा सडकमा आफ्नै धुनमा हिँडिरहेका थिए । एउटा ठूलो ढुंगामा ठोक्कर लागेर उनी उत्तानो पर्ने गरी लडे । रिसको झोकमा होजाको मुखबाट निस्क्यिो– ‘गधाको बच्चा, तँ पनि सडकमा हुने । म तँलाई हजार पटक गाली गर्छु ।’ होजाको दुर्भाग्य, उनले त्यसरी गाली गर्दा शहरका धनाढ्य मानिसका छोरा पनि सडकमा नजिकैबाट गइरहेका थिए । उनलाई लाग्यो– हो न हो, यो होजाले मलाई नै गाली गरिरहेछ ! घर पुगेर उनले त्यो कुरा आफ्ना बुबालाई सुनाए । छोराको कुरा सुनेर धनाढ्य बाउलाई रिसको पारो चढ्यो । उनले वास्तवमा भएको के थियो भनेर जानिबस्नै चाहेन । सोझै काजीको अदालतमा पुगे र होजाका विरुद्ध मुद्दा दायर गरे । होजालाई काजीको अदालतमा झिकाइयो । होजा काजीको अदालतमा उपस्थित हुनेबित्तिकै कसुर के हो ? कुन आरोप उनीमाथि लागेको छ, त्योबारेमा विमर्श नै नगरिकन काजीले फैसला सुनाइहाले– ‘होजाले गरेको दण्ड चाँदीको एक सिक्का !’ होजा अक्कनबक्क परे । उनले सम्झन खोजे, मैले त आफूविरुद्ध उजुर गर्ने धनी मानिसलाई कतै कहीँ भेटेको पनि छैन । आखिर उनले के बारेमा उजुर गरेका हुन् । होजाले सोधे– ‘हजुर, मेरो गल्ती के हो ?’ ती धनी मानिसले भने, ‘तिमीले आज बिहान मेरो छोरालाई बिना कुनै कारण हजार पटक गाली गरेका छौ ।’ होजालाई बिहानको घटना याद आयो । उनले सफाइ दिए, ‘ए कुरा त्यसो हो । मैले त तपाईंको छोरालाई हैन, मलाई ठेस लागेर लडाउने ढुंगालाई पो गाली गरेको थिएँ तँ ।’ तर होजाको सफाइ काम लागेन । काजीले आदेश दिए, ‘मलाई तिम्रो कुनै स्पष्टीकरण सुन्नु छैन । तुरुन्तै जरिवाना तिर ।’ होजाले पनि गोजबिाट चाँदीको दुईवटा सिक्का निकाले, काजीको टेबुलमा बजारे र भने, ‘हजार पटक गाली गरेको दण्ड चाँदीको एक सिक्का हो भने म दुई सिक्का नै दिन्छु । मलाई एक सिक्का फर्काइबस्नु पर्दैन । त्यसको बदलामा यस्तो अन्यायपूर्ण फैसला गर्ने तपाईंलाई म हजार पटक गाली गर्छु ।’ काजी अक्क न बक्क बने । होजा त्यहाँबाट उठेर खुरुखुरु बाहिरिए ।
Views: