d

गाडेको शव साढे चार महिनापछि निकालेर पुन: परम्पराअनुसार काजकिरिया

Views:
Responsive Image Gallery
Responsive Image Gallery
अर्घाखाँची : अर्घाखाँचीमा गाडेको शव साढे चार महिनापछि निकालेर पुन: परम्पराअनुसार काजकिरिया गरिएको छ। 
मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते उपचार गरेर फर्कने क्रममा बाटोमा निधन भएको थियो । क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो।
तर उनको मृत्यु भइसक्दा पनि पिसिआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको स्वाबको नतिजा आएन। उनको स्वाब रिपोर्ट प्रयोगशालाकै लापरबाहीले प्रयोगशालाभित्रै हराएको थियो।  
प्रयोगशालामा पठाएको नमुना हराएपछि पुन: मृत शरीरबाट स्वाब निकालेर पिसिआर जाँचका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो। रिपोर्टमा कोरोना पोजेटिभ आएपछि शव व्यवस्थापन गर्न अन्योल भएको थियो। त्यसपछि शवलाई २ दिनसम्म जंगलको बीचमा राखी त्यहीँ गाडिएको थियो।
परिवारले चाहेको स्थानमा शव व्यवस्थापन गर्न र परम्पराअनुसार काजकिरिया गर्न नपाएपछि चार महिनापछि शव उत्खनन गरी परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले बताए।
अहिले परम्परागत रूपमा शवको दाहसंस्कार गरेपछि परिवारका सदस्यहरू काजकिरिया बसेका छन्।
पछिल्लो समय कोरोनाबाट मृत्यु भएकाको शव परम्पराअनुसार परिवारका सदस्यहरूले दाहसंस्कार गर्न पाउने नीति बनेपछि शव उत्खनन गर्न गाउँपालिकाले अनुमति दिएको मालारानीका अध्यक्ष बालकृष्ण आचार्यले बताए। थाहा खबरमा विष्णु आले ले यो खबर लेख्नुभएको छ। 
Views: