d

अमेरिकी चुनाव विवाद अदालतमा, को बन्ला अमेरिकी राष्ट्रपति ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावको मत गणना जारी छ । बुधबार मध्यरातसम्मको मतपरिणामका आधारमा दुई प्रमुख उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच निक्कै कडा प्रतिस्पर्धा हुने देखिएको छ । ४३ राज्यको मतपरिणाम आइसक्दासमेत कसैको सुनिश्चित देखिएको छैन । 

कोभिडका कारण यसपटक १० करोड अमेरिकी नागरिकले हुलाकबाट मतदान गरेका थिए । निर्वाचनको मिति सकिएपछि प्राप्त भएका मतपत्रले मान्यता पाउने कि नपाउने भन्ने विवाद थियो । पेन्सिलभेनिया राज्यले त्यस्ता मतपत्रलाई मान्यता दिएकोमा त्यहाँको अदालतमा ट्रम्प पक्षले रिट दर्ता गर्ने घोषणा गरेको छ । 

यसपटक चुनावअघिका अधिकांश मत–सर्वेक्षणले बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । तर, मतगणना भने मत–सर्वेक्षणको अनुमानविपरीत निकै प्रतिस्पर्धात्मक देखिएको छ । वर्तमान राष्ट्रपति ट्रम्पले डेमोक्र्याटका उम्मेदवार बाइडेनलाई पछ्याइरहेका छन् । बुधबार रातिको परिणामअनुसार बाइडेनले २३७ इलेक्टोरल मत पाएका छन् । त्यही नै ट्रम्पले २१३ इलेक्टोरल मत पाएको बिबिसीले जनाएको छ । अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल मत छ । अमेरिकी राष्ट्रपति बन्न कम्तीमा दुई सय ७० इलेक्टोरल मतको आवश्यकता हुन्छ ।

रिपब्लिकनका ट्रम्प र डेमोक्र्याटका बाइडेन दुवैले महत्वपूर्ण मानिएका राज्यमा जित निकालेका छन् । अहिलेसम्म ५० मध्ये ४३ राज्यको नतिजा आएको छ । यद्यपि धेरैजसो राज्यमा ट्रम्प नै विजयी भए पनि बाइडेनले धेरै इलेक्टोरल मत भएका राज्यमा जित निकालेका छन् । यसपटक निर्वाचनको परिणाम आउन विगतको भन्दा ढिलो हुन सक्छ । कोरोना भाइरसका कारण १० करोड मतदाताले हुलाकबाट आफ्नो मतपत्र पठाएका छन् । सम्बन्धित निकायसम्म पुग्न समय लाग्न सक्छ । यसैकारण अन्तिम परिणामको घोषणा ढिला हुने भएको हो ।

मतपरिणाम आउन बाँकी रहेका राज्यको नतिजा नै निर्णायक हुन सक्छ । पेन्सिलभेनिया (२०), नर्थ क्यारोलिना (१५), जर्जिया (१६), मिसिगन (१६), नेभडा (६), अरिजोना (११) र अलास्का (३) इलेक्टोरल मत रहेको राज्यलाई प्रमुख चुनावी रणमैदान मानिएको छ । 

अमेरिकामा हुलाकबाट मत हाल्नु नयाँ होइन । सन् २०१६ मा भएको राष्ट्रपतीय चुनावमा कुल मतदानमध्ये एकचौथाइ हुलाकी मत थिए । तर, यो वर्ष कोभिड– १९ महामारीका कारण धेरै अमेरिकी घरबाट बाहिर निक्लिन हिच्किचाइरहेका थिए । सोही कारण हुलाकी मतको प्रयोग ह्वात्तै बढ्यो । यही कारण हुलाकी मत राजनीतिक विवादमा तानिन पुग्यो । डेमोक्र्याटहरूले यो प्रक्रियाबाट बढी मत हासिल गर्ने सम्भावनायुक्त सर्वेक्षण सार्वजनिक भइरहँदा ट्रम्पले यसलाई सकेसम्म सीमित गराउने प्रयास गरे । उनले यो मतदानलाई छिट्टै रोक्ने प्रयास गरेका थिए । ट्रम्पको यस प्रयासविरुद्ध डेमोक्र्याट अदालत जानुपरेको थियो । 

केही राज्यमा पोस्ट ब्यालेटअन्तर्गतको मेल–इन मत सुरुबाटै गणना भएको थियो । केही राज्यले भने चुनावको एक दिन पहिले मात्र गणना सुरु गरे । हाल चुनावी परिणाम ढिलो गरी आइरहेका पेन्सिलभेनिया तथा विस्कन्सिनजस्ता राज्यमा पोस्टल ब्यालेटको गणना चुनावको दिनबाट मात्र सुरु भयो । यो मतको गणनामा सामान्य मतगणनाभन्दा लामो समय लाग्छ । मिचिगन राज्यका अधिकारीले पनि सम्पूर्ण मत गन्न शुक्रबारसम्म समय लाग्ने बताएका छन् । 

अहिले आएर हुलाकी मतको विषयले भने कानुनी विवाद निम्त्याउने जोखिम देखिएको छ । ट्रम्पले पोस्टल ब्यालेटमार्फत आफूलाई हराउन प्रयास भइरहेको बताएका छन् । उनले चुनावको अवधि सकिएपछि पनि डेमोक्र्याट्सहरूले यस विधिमार्फत मतदान गरेको भन्दै न्यायालय जाने चेतावनी दिएका छन् । चुनावअघि नै केही मिडियाले यसको सम्भावना व्यक्त गरेका थिए । अमेरिकी समाचार एजेन्सीले एपीले अक्टोबर २४ को समाचारमा हार–जितको निर्णय झिनो अन्तरले हुने सम्भावना उत्पन्न भएमा न्यायिक लडाइँ लड्न दुवै पक्षले तयारी गरेको लेखेको छ । पोलिटिको नामक वेबसाइटमा सेप्टेम्बर २७ मा छापिएको एक समाचारमा ट्रम्पले भावी कानुनी लडाइँका लागि २० जना वरिष्ठ वकिल किनेको लेखेको छ । 

Views: