d

विप्लव समूह द्वारा हत्या गरिएका शिक्षकको अन्त्येष्टि, न्याय नपाए पिडित परिवारले आन्दोलन गर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नियन्त्रणमा लिएर विभत्स हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बिहीबार बिहान अन्तिम विदाई गरिएको छ ।
विप्लव समूहले बिहानै घरको काम गरिरहेका बेला घरबाटै अपहरण गरेर मिक्लाजुङ गाउँपालिका–१ स्थित बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको मंगलबार बिहान बर्बरतापूर्ण तरिकाले हत्या गरेको थियो । आफ्नै नियन्त्रणमा राखेर घाँटी रेटेर उक्त समूहले उनको निर्मम हत्या गरेको हो । घटनाको आधिकारिक रुपमा विप्लव समूहले जिम्मा लिइसकेको छ ।
श्रेष्ठको शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम भएपछि बुधबार परिवारका सदस्यले दाहसंस्कारका लागि बुझेर लगेका थिए । मिक्लाजुङ–२ स्थित मुल घरमा रातभर शव राखेर बिहीबार बिहान १० बजेतिर अन्त्येष्टि गरिएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्थे । आचार्यका अनुसार मिक्लाजुङ–२ र ७ को संगमस्थल भएर बग्ने बक्राहा खोलाको घाटमा श्रेष्ठको हिन्दु संस्कारअनुसार अन्तिम विदाई गरिएको हो । 
श्रेष्ठको पार्थीव शरीरमा छोरा छत्रबहादुरले दागवत्ति दिए । उनको अन्त्येष्टिमा सयौं सर्वसाधारण, राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अगुवा सहभागी बनेका थिए । ‘राजेन्द्र सरमाथि भएको यस्तो अमानवीय घटना गराउनेलाई राज्यले छुट दिन हुँदैन,’ श्रेष्ठको अन्तिम संस्कारमा सहभागी बनेका गाउँपालिका प्रमुख आचार्यले भने, ‘घटना हेर्दा राज्य निरिह र विप्लव समूह शक्तिसाली बनेकोजस्तो देखियो ।’  अन्ननपूर्ण पोस्टमा कसोर दाहालले समाचार लेख्नुभएको छ ।
Views: