d

नेपाल शिक्षक संघको कार्यक्रममा बजेट कटौतीको व्यापक विरोध

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: नेपाल शिक्षक संघ  गौरादहको तेस्रो प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ ।  
शिक्षक संघ गौरादहका अध्यक्ष रत्न कट्वालको सभापतित्व तथा  नगरप्रमुख  रोहित साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समसामयिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा देखिएका समस्या माथि चर्चा परिचर्चा गरिएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथी रोहित कुमार साहले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका निम्ति स्थानिय सरकार अहोरात्र लागि परेको बताए ।
नगरको नेतृत्वमा आफू आए पश्चात् विभिन्न शिक्षकहरुलाइ दबाब र प्रभाबमा पार्ने , सांगठनिक हिसाबले शिक्षकलाई  प्रधानाध्यापकहरु द्वारा विभेद गर्ने, पेशागत संस्थामा आवद्ध भए सरुवा प्रकृयामा सहयोग गर्ने जस्ता झुटो आश्वासन बाड्ने  जस्ता कार्य रोक्न पहल थालिएको बताउदै केही हदसम्म रोक्न सफल भएको जिकिर समेत गरे । नगर सभा सदस्यहरुद्वारा बेरुजु आउने बहानामा बाल शिक्षक र कर्मचारीको प्रोत्साहन भत्ता कटौती गरिएको विषय सुधार गर्न आफू तयार रहेको बताए । सामुदायिक बिद्यालय मात्र नभएर नगरभर रहेका संस्थागत बिद्यालयमा पनि कोभिड १९ प्रकोपको समयको पारिश्रमिक कटौति गरि श्रम शोषण  गरेको बिषयमा संस्थागत बिद्यालय शिक्षक युनियन द्वारा नगरपालिकामा आफ्नो समस्याबारे सुनुवाइ गरिदिन गरिएको उजुरी आएको स्मरण गरे । यद्यपि  उक्त उजुरी उपर अहिलेसम्म कुनै सम्बोधन गर्न नसकिएको बुझिएको छ । 
 विशिष्ट अतिथी नेत्र प्र. खरेलले संघीय शिक्षा ऐन ल्याउन नसक्नु शिक्षा क्षेत्रको मुख्य चुनौती रहेको बताए । श्रम ऐन कार्यान्वयन हुन नसक्नु केन्द्रमा रहेको शिक्षक महासंघको नेतृत्व नै मुख्य कारक तत्व रहेको बताए ।
पेसागत हक हितका निमित्त ट्रेड युनियन मार्फत जिम्मेवारी पाएका प्रमुख नेतृत्वमा रहनेहरुनै सरकारको वरिपरि घुम्ने भएकोले हाल उक्त समस्या यथावत रहेको प्रस्ट पारे । नेपालमा शिक्षकको हक हितका लागि भए गरेका उपलब्धीहरु काङ्ग्रेसको सरकारको पालामा मात्र भएको र हरेक साना ठुला उपलब्धीहरु नेपाल शिक्षक संघको नेतृत्वकै कारणले गर्दा सम्भब भएको बताए । उपलब्धिको पुरानो इतिहास खोतल्दै २०४७ सालमा अन्तरिम सरकारका प्र. म . कृष्ण प्रसाद भट्टराईको पालामा ठूलो संख्यामा रहेका अस्थायी शिक्षकहरु स्थायीमा रुपान्तरण गरिएको अबगत समेत गराए । त्यस पश्चात् २०५३ सालमा पनि अस्थायी रहेका शिक्षक हरुलाइ स्थायी गरिएको तर उक्त विषयमा सर्बोच्चमा मुद्दा परि स्थायीत्व कार्य पूरा नभएको बताए ।
 काङ्ग्रेसले सरकारको नेतृत्व गर्दा शिक्षा क्षेत्रमा गरिएका सुधारको चर्चा गर्दै उनले तत्कालीन अर्थमन्त्री महेस आचार्यको समयमा आम शिक्षकको तलब वृद्धि गरिएको स्मरण गरे ।  गिरिजा प्रसाद कोइराला प्रधान मन्त्री रहदा अस्थायी शिक्षकहरुलाई स्थायी गराइएको ईतिहास स्मरण गराए ।  सेर ब. देउवा प्र. म. भएको बखत गोपाल मान श्रेष्ठ शिक्षा मन्त्री रहदा शिक्षकका धेरै समस्याहरु समाधान गरिएको तथ्य स्मरण गरे । 
 शिक्षकलाई पोसाकको प्रबन्ध गराउन ,बाल बिकास र राहत शिक्षकका समस्या र साबिक उच्च मा. बि. का शिक्षक हरुको समस्या समाधानमा पनी शिक्षक संघको योगदान उल्लेख्य रहेको जिकिर गरे ।  वर्तमान सरकारको प्रतिगमनका कारण समग्र शिक्षापद्धतिमा नै समस्या देखिएको भन्दै उनले  संविधान माथिकै बलात्कार गरिनु सिंगो व्यवस्था माथी चुनौती भएको जिकिर गरे ।
समारोहका अर्का वक्ता जिल्ला प्रतिनिधि विशिष्ट अतिथी बद्री कार्किले पेसागत हकका लागि नेतृत्वमा रहने शिक्षक सेवानिबृत्त भए संगै आफुले ओगटेको पद स्वत गुमाउने चर्चा गरे । कार्कीले  शिक्षक महासंघ झापा जिल्ला  अध्यक्ष बुद्धिमान कार्की शिक्षण पेशाबाट अवकाश लिइसकेकाले उनलाई नै नेतृत्वमा राखिरहनु बैधानिक रूपमा त्रुटिपूर्ण रहेको तथ्य औल्याएका थिए ।   सेवानिबृत अध्यक्षहरु लाई नैतिक रुपमा औपचारिक कार्यक्रमहरुमा आथित्यता ग्रहण गराउन नमिल्ने बताउदै त्यस्ता प्रकृतिका कार्यक्रमहरु आफूद्वारा बहिस्कार गरिने उद्घोष समेत गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले गौरादह नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको बजेट कटौतीको खुलेर बिरोध गरेका थिए ।   छैटौं नगर सभाले पारित गरेको  शिक्षा क्षेत्रको  बजेट सातौं नगरसभाबाट कटौती गरिनु  खेदपूर्ण रहेको भन्दै तत्काल सच्याउन माग गरिएको छ ।
  कार्यक्रमको अबसरमा गौरादह नगरपालिकाका सामुदायिक बिद्यालयमा कार्यरत रहि २०७५/०७६ मा सेवानिबृत हुने शिक्षक संघमा आबद्द ६ जना शिक्षकहरु गाेपालप्रसाद पाेखरेल, तुलसीप्रसाद भट्टराई ,भीममाया उप्रेती खवास , पहाडसिंह राजवंशी , नरबहादुर कार्की र हरिप्रसाद पाठक लाई दोसल्ला तथा कदरपत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रत्न कट्वालले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसै गरि संस्थाका सचिब मेघराज अधिकारी द्वारा सांगठनिक प्रतिवेदन  र अर्थ -सचिब युबराज रेग्मिले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा शिक्षक मैत्री सहकारीका जिल्ला अध्यक्ष प्रकाश भण्डारी , शिक्षक संघ राष्ट्रिय प्रतिनिधि गोपाल चन्द्र भुजेल , नेपाली काङ्ग्रेस गौरादह नगर सभापती यादब राज सेडाइ लगायतको उपस्थिति रहेको कार्यक्रमलाई समितिकी कोषाध्यक्ष दुर्गा गौतम घिमिरेले स्वागत गरेकी थिइन ।

 

Views: