d

अपराध नियन्त्रणमा सहयोग गर्न होटल व्यवसायीलाई प्रहरीको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: ईलाका प्रहरी कार्यालय गौरादहले हाेटल तथा रेस्टुरेन्ट व्यवसायीलाई आपराधिक गतिविधि नियन्त्रणमा भुमिका खेल्न आग्रह गरेको छ । आपराधिक मानसिकता बोकेको व्यक्तिले होटल तथा रेस्टुरेन्टलाई  आपराधिक योजना स्थल बनाउन सक्ने भन्दै गौरादहका १, २ र ३ नं. वडामा संचालित होटल व्यवसायीहरुलाई  सचेत रहन आग्रह गरेको हो । ३ वटा वडामा रहेका होटल व्यवसायी संग शुक्रबार बृहत अन्तरक्रिया आयोजना गरेको इलाका प्रहरी कार्यालय गौरादहले आपराधिक मनस्थितिको व्यक्तिहरु खानपिनको बहानामा होटलमा छिर्ने र आपराधिक योजनाहरु समेत होटल रेस्टुरेन्ट मै  बनाउन सक्ने भएकोले आफ्नो होटल वा रेस्टुरेन्टमा त्यस्ता व्यक्तिले प्रवेश गरेको आशंका भएमा तत्काल  प्रहरीलाई सूचना दिएर सहयोग गर्न अनुरोध गरेको छ । 
ईलाका प्रहरी कार्यालय गाैरादहका प्रमुख प्रहरी नायब निरीक्षक रमेश कुमार मेहताले कार्यक्रमको सहजीकरण गर्दै  अपराध नियन्त्रणका निमित्त  हाेटल व्यवसायीहरु मुख्य कडिको रुपमा रहन सक्ने बताएका थिए । होटेल ब्यबसायीहरु सूचनाको मेरुदण्डनै भएको बताउदै   अपराधिक मानसिकताका व्यक्तिहरुको योजना तथा गफगाफको मुख्य केन्द्र होटेल तथा रेस्टुरेन्ट  स्थल हुने भएकोले संवेदनशील रहन आग्रह गरेका छन् । 
अक्सर मानिसहरु सुःख-दुःख, जन्म-मृत्यु संस्कार , मिलन-विछाेड, सफलता-असफलता आदि सबै बहानामा  मनोरञ्जनको निमित्त  मादक पदार्थ सेबन गर्न होटेल तथा रेस्टुरेन्टमा जान सक्ने अनुभव शेयर गर्दै प्र. ना. नी. मेहताले अपराधिक याेजना तथा  आपराधिक गतिविधि  पश्चातकाे समीक्षा तथा  छलफलहरु होटल तथा रेस्टुरेन्टमा खुलेआम रूपमा गरिने भन्दै सूचना  लुकाउने व्यवसायीका कारण आपराधिक गतिविधिमा टेवा पुगेको ध्यानाकर्षण गराएका थिए । व्यवसायीहरु आफू समेत अपराधिकाे निसानामा  पर्न सक्ने सम्भावना उतिकै रहने बताउदै  अपराधिक गतिबिधिको  सूचना  निर्धक्क साथ  प्रहरीलाई  जानकारी दिई   अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न  आग्रह गरे । व्यवसायीहरु  निर्धक्क र सुरक्षित रहि आफ्नो  ब्यबसाय गर्न  सल्लाह, सुझाव प्रस्तुत गर्दै उनले समाजमा शान्ति र अमनचयन कायम गर्न प्रहरीलाई नागरिक समाजको उच्च भुमिका हुने बताएका थिए । 
ईलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा  सम्बन्धित  ४३ जना ब्यबसायीहरु सहभागी थिए । सो अवसरमा  सहभागीहरुले  एकआपसमा समन्वय गरेर समाजलाई अपराध मुक्त बनाउन आफुहरु सकारात्मक रहेको तथा प्रहरीले सचेतनामुलक कार्यक्रमहरु समय समयमा संचालन गरिराख्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए । 
Views: