d

'खुला मञ्‍चमा डाडु पन्यु बोकेर केही मान्छेले तमासा देखाए'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धुलै धुलोले भरिएको खुला मञ्चमा खाना खुवाउने नाममा केही मानिसहरुले तमासा देखाएको बताएका छन्।

कोरोना संकटका कारण भएको लकडाउनले बेरोजगार बनेका गरिब तथा विपन्नलाई खाना खुवाउने बहानामा केही मानिसहरुले अनौठो गतिविधि देखाएको उनले बताए।

शनिबार राति एपिवान टेलिभिजनसँग कुरा गर्दा उनले सरकार भोका, गरिब कोही पनि नमरुन् भन्‍ने कुरामा गम्भीर रहेको बताए। 'खुला मञ्चमा भोकाहरुलाई खाना खुवाउने कुरामा सरकारको आपत्ति होइन। कोही पनि नागरिक भोकै नमरुन् भन्ने कुरामा सरकार गम्भीर छ', उनले भने, 'तर खुला मञ्चमा हावा चलेको छ, धुलो उडेको छ। यसरी सार्वजनिक स्थान र बाटोमा तमासा देखाउने कुरा हो कि होइन?'

प्रधानमन्त्री ओलीले खुला मञ्चमा डाडु पन्यु बोकेर अनौठा अनौठा मानिस डुलेको पनि बताए। 'अनौठा अनौठा मानिसहरु डाडु पन्यु लिएर खुलामञ्चमा डुलिरहेका छन्। मानवीयता बिर्सेर फोटो खिच्दै फेसबुकमा हालिन्छ। मानवीयता फेसबुकमा प्रचार गर्ने होइन', उनले भने, 'सरकारले, काठमाडौं महानगरले धुलो नभएको ठाउँमा खुवाउनु भन्दा के नराम्रो भयो र?' 

खुला मञ्‍चमा खाना बाँड्न जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहित पुगेका थिए। त्यस्तै नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानमन्त्री खुला मञ्‍च पुगेका थिए। उनीहरुले गरिब तथा असहायलाई खान खुवाएको फोटो आफ्नो फेसबुकमा राखेका छन्। 

नेपाल मात्रै

ओलीले फरक प्रसङ्गमा नेपाल देशको नाम पछाडि अहिलेको व्यवस्थाको व्याख्या आवश्यक नभएको बताए।

'संघीय लोकतान्त्रिक गणतन्त्र नलेखेर नेपाल मात्रै लेखेको कुरा उचित छ। नबुझे जस्तो गर्नेहरुलाई बुझाउन सकिँदैन। हामीले जारी गरेको संविधान नेपालको हो। संघीयता शासकीय प्रणाली हो, त्यसलाई किन देशको नामसँग जोड्नु?', उनले प्रश्‍न गरे, 'शासकीय प्रणाली हो संघीय लोकतान्त्रिक गणतन्त्र तर देश नेपाल हो। देशको नाममा पनि बहुजातीय, बहुभाषिक भन्दै लेख्ने त?' 

Views: