d

ढिलासुस्ती सहन सकिदैन - प्रधानमन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइलाई ‘अस्वाभाविक’ भनेका छन्। प्रधानमन्त्री ओलीले यस्तो ढिलासुस्ती नसहने चेतावनी दिएका छन्।
‘तीन वर्षदेखि मैले एउटै कुरा सुन्दै आएको छु– एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्न‘ छ। १ वर्षअगाडि त्यही सुनेँ, ६ महिनाअगाडि पनि त्यही सुनेँ, ३ महिनाअगाडि, १ महिनाअगाडि पनि त्यही सुनेँ। केही दिनअगाडि पनि त्यही सुनेँ, अघिल्लो दिन पनि त्यही सुनेँ’, प्रधानमन्त्री ओलीले बिहीबार नापी विभागले आयोजना गरेको कार्यक्रममा भने, ‘यो ढिलाइले दैनिक प्रत्यक्ष पाँच करोड र परोक्ष १३ करोडको नोक्सानी भइरहेको छ। यो ढिलासुस्ती अस्वाभाविक र असाधारण हो।’
प्रधानमन्त्री ओलीले आयोजनाको कामलाई सरकारले चासोसाथ हेरिरहेको स्पष्ट पारे। मेलम्ची खानेपानी आयोजनामा यस्तै ढिलाइ गर्न खोजेको तर ताकेता गरेर काम सम्पन्न भएको ओलीले सुनाए। ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी आउने थिएन। हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं’, ओलीले भने, ‘माथिल्लो तामाकोसीको काममा पनि यसरी नै ढिलासुस्ती भइराखेको छ। ढिलासुस्ती र बिलम्बप्रति अनदेखा गरेर बस्न सकिँदैन। बिलम्ब स्वीकार्य हुनै सक्दैन।’
ओलीले विलम्ब र ढिलाइ गर्नेले क्षतिको जिम्मा लिनुपर्ने बताए। ‘ढिलासुस्ती गर्छ कसैले भने त्यसबाट हुने क्षतिको पनि जिम्मा लिनुपर्छ। चाहे देशभित्रको प्रश्न होस् चाहे देशभित्रको ठेक्का कम्पनीको प्रश्न होस्’, उनले भने, ‘तर, विलम्ब स्वीकार्य हुन सक्दैन। हामी तीव्र रफ्तारमा देशको विकास गर्न चाहन्छौं।’
४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी निर्माणको काममा सुस्तता देखिएको छ। यो आयोजना निर्माण २०६५ सालमा सुरु भएको थियो। १३ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन। भूकम्प र कोभिड महामारीका नाममा निर्माण प्रभावित भएको छ।
सरकारले यही वैशाखमै तामाकोसीको उद्घाटन गर्ने तयारी गरेको छ। यो आयोजनाको लागत सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो। यो सम्पन्न हुँदा ८५ अर्ब रुपैयाँभन्दा बढी लागत पुग्ने अनुमान गरिएको छ। आयोजनामा ५३ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ। ऋणको ब्याज मात्रै करिब २५ अर्ब रुपैयाँ पुगेको छ। खर्च भएको रकम र यसको ब्याज मात्रै ७८ अर्ब रुपैयाँ नाघिसकेको छ। आयोजनाका प्रवक्ता गणेश न्यौपानेले निर्माण तीव्र गतिमा भइरहेको बताए। प्रवक्ता न्यौपानेका अनुसार पाइप जडान तथा बाँकी रहेका सानातिना काम दुई साताभित्र सकिनेछ। ‘हामी निर्माण क्रममै छौं। दुई हप्ताभित्र बाँकी काम सकिनेछ’, प्रवक्ता न्यौपानेले भने।
उनले प्रधानमन्त्री ओलीको आक्रोश स्वाभाविक भएको बताए। ‘माथिल्लो तह’मा सबै कुरा थाहा नहुँदा पनि प्रधानमन्त्रीको आक्रोश आएको उनको बुझाइ छ। ‘प्रधानमन्त्रीको आक्रोश स्वाभाविक हो। माथिल्लो तहमा सबै कुरा थाहा हुँदैन’, उनले भने।
उनले कोरोना महामारीको कारण पाइप आउन ढिलाइ हुँदा काम ढिलो भएको स्विकारे। ‘कोरोना महामारीले पाइप आउन ढिलाइ भयो। यो पाइप भारतबाट आउनुपर्ने हो’, उनले भने, ‘चाहिने त एक्सपेन्सन पाइप हो तर पेनिस्टर पाइप पाइयो। त्यही ल्याएर जडान गर्दै छौं।’ गुणस्तरमा सम्झौता गर्न नसकिने भएको कारण पनि ढिलाइ भएको उनको भनाइ छ। उनका अनुसार एक हप्ता–१० दिनमा त्यो पाइप जडान गरेर सकिन्छ। ‘सानातिना काम बाँकी हुन्छ’, उनले भने, ‘तर, यी महत्वपूर्ण जरुरी हुन्छ। यति काम नसकी विद्युत् उत्पादन नै हुन सक्दैन। गुणस्तरमा सम्झौता गर्न सकिन्न। जथाभावी गर्दा भोलि क्षति भयो भने कसले जिम्मेवारी लिने ?’ उनले तामाकोसी उद्घाटनको विषयमा अहिले नै केही भन्न नसकिने बताए। अन्नपुर्ण पोस्ट मा सुरेन्द्र काफ्ले ले समाचार लेख्नुभएको छ।
Views: