d

१५ वैशाखभित्र क्रियाशील सदस्यको विवरण पठाइसक्न कांग्रेसको निर्देशन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कांग्रेसले पार्टीका क्रियाशील सदस्यताको विवरण केन्द्रलाई पठाइसक्नुपर्ने म्याद पुनः एक साता सारेको छ । सोमबार साँझ बसेको केन्द्रीय कार्यसमितिको बैठकले १५ वैशाखभित्र क्रियाशील सदस्यहरूको विवरण केन्द्रमा पठाइसक्नुपर्ने, अन्यथा महाधिवेशनमा भाग लिन नपाउने गरी ७३ जिल्ला र क्षेत्रीय समितिहरूलाई निर्देशन गरेको हो ।
बैठकले अहिलेसम्म फारम नै नपाएका सप्तरी र सिन्धुपाल्चोक तथा अन्य जिल्लाको भन्दा ढिला गरेर फारम पुगेका बारा र सोलुखुम्बुबाहेक ७३ जिल्लाका जिल्ला कार्यसमिति र क्षेत्रीय समितिहरूले एक साताभित्र क्रियाशील सदस्यको विवरण पठाइसक्नुपर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।
सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुले वैशाख ३० गतेसम्म क्रियाशीलको विवरण पठाउने म्याद पाएका छन् । ‘महाधिवेशनको मिति नजिकिएको छ, लामो समय पर्खिरहने अवस्था छैन, त्यसैले प्राविधिक कारणवश रोकिएकाबाहेक सबै जिल्लालाई १५ गतेभित्र क्रियाशीलको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न निर्देशन गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै लेखकले भने, ‘वैशाख १५ गते राति १२ बजेबाट सफ्टवेयरमा इन्ट्री गर्ने सिस्टम नै बन्द हुन्छ ।’
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तल्ला तहको अधिवेशन सुरु हुन अब करिब दुई महिना मात्रै बाँकी छ । तर, ती अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यहरूको नामावली अझै संकलन नै भइसकेको छैन । नामावली संकलनपछि त्यसमाथि दाबी विरोध र छानबिनको काम अझै बाँकी नै छ । कांग्रेसले हाल भएको सदस्यता संख्यालाई दोब्बर गर्ने र त्यस्तो विवरण सम्बन्धित जिल्लाबाटै सफ्टवेयरमार्फत केन्द्रीय कार्यालयमा पठाउने व्यवस्था गरेको छ । जसअनुसार केन्द्रलाई अहिलेसम्म ७३ जिल्लाबाट ६ लाख पाँच हजार चार सय तीनजना क्रियाशील सदस्यको विवरण प्राप्त भएको संयोजक लेखकले बताए । नयाँ पत्रिका बाट साभार गरिएको।
Views: