d

झापामा किर्ते गरि जग्गा बेच्ने गिरोह पक्राउ, केही आरोपी फरार

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा: झापाको विर्तामोड नगरपालिका वार्ड नं १ स्थित स्व. टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा सहित ३ वर्षदेखि कागजात किर्ते बनाएर जग्गा बिक्री गर्दै आएका १० जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहिबार घटना सार्वजनिक गरेको थियो । किर्ते काममा संलग्न रहेका ६ जना फरार छन् भने १० जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
घटनाको बारेमा प्रहरीले उल्लेख गरे अनुसार बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको स्वर्गीय टुंङगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जग्गा बिर्तामोड नगरपालिका–७ का रञ्जु राईको नाममा रजिस्ट्रेसन पास भएपछि उक्त घटना बाहिर आएको हो ।
प्रहरीका अनुसार २०७७ साल माघ २१ गते राईको नाममा रजिस्ट्रेसन पास भएको थियो  । जग्गाधनी बस्नेतको भने २०७६ साल साउन २४ गते मृत्यु भइसकेको थियो ।  जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेकाले ७१ वर्षको उमेर खुलाएर काठमाडौं जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाइएको थियो ।
उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगावारि बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएका थिए । राजवंशीले राईलाई उक्त जग्गा ८४ लाख ३७ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको मालपोतको तथ्यांकमा देखिएको प्रहरीले जानकारी दिएको छ ।  उक्त जग्गाको अहिलेको चलनचल्तीको मूल्य अनुसार १० करोड पर्न सक्ने बताइएको छ ।
प्रहरीका अनुसार बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा गिरोहहरुले हडपेका हुन् । उक्त जग्गा किर्ते गरेर विक्री गर्ने मुख्य व्यक्ति भने झापा  गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारीका सुसिल भनिने बलराम विश्वकर्मा रहेको बताएको छ ।
झापाकै  विर्तामोडमा बसेर विभिन्न दुई नम्बरी धन्दामा संलग्न हुँदै आएका बलरामलाई यसअघि पनि प्रहरीले नक्कली राजश्वको स्टीकर सहित पक्राउ गरेको थियो ।
यसैगरी अर्का मुख्य पात्र नापी कार्यालयका पूर्व कर्मचारी नविन कोइरालाले बस्नेतको जग्गा हडप्ने योजनामा सुरुवा देखिनै संलग्न रहेको देखिएको प्रहरीले बताएको छ । कोइरालाले बस्नेतको नाममा रहेको जग्गा पत्ता लगाउने, धनीपूर्जा किर्ते गर्ने र बस्नेतको नागरिकताको विवरण इलाम सम्म गई पत्ता लगाउने काम गरेका थिए । कोइरालले विभिन्न समयमा गिरोहलाई सहयोग गरे बापत अर्का गिरोह गोविन्द बान्तवासँग १४ लाख रुपैयाँ लिएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा वारेसनामा आफ्नो नाममा ल्याउने बलराम बिश्वकर्मा सहित बाह्रदशी गाउँपालिका–३ हाल बिर्तामोड–२ चैतुवारी बस्ने ३९ वर्षका मङ्गलसिंह राजवंशी, नक्कली जग्गाधनी बनेका बिर्तामोड–१० हाल कोटीहोम सुरुङ्गामा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डे, जग्गा खरिद गर्ने बिर्तामोड नगरपालिका–४ बस्ने ३३ वर्षीया रञ्जु राई र उनका श्रीमान् दोभान कन्स्ट्रक्सन कम्पनी बिर्तामोडका सञ्चालक ३४ वर्षीय गोविन्द बान्तवा, नापीका पूर्व कर्मचारी एवं नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाल, विर्तामोडमा ट्रयाक्टर सोरुम सञ्चालन गर्ने अर्जुनधारा –५ का ५३ वर्षीय लेखनाथ खनाल, र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।
बस्नेत जग्गा प्रकरण घटनामा संलग्न ६ जना अझैं फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा वडा अध्यक्ष, मालपोत अधिकृत, कर्मचारीदेखि साक्षी बसेका व्यक्तिहरू अझैं फरार रहेका छन् ।
फरार हुनेहरुमा गौराहद ७ का वडाध्यक्ष बलराम खरेल, मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतकै अर्का कर्मचारी तत्कालिन नायब सुब्बा हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी –७ का बेगप्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग –११ का देवबहादुर विष्ट र भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की रहेको प्रवक्ता थापाले बताए । 
उनीहरु विरुद्ध ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिएका छन् ।
Views: