d

एमालेको दशौं अधिवेशन: आयोजक समितिको बठक बालुवाटारमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीको सांगठनिक कार्यविभाजन र राजनीतिक प्रतिवेदन, समसायिक राजनीतिक घटनाक्रम,आगामी रणनीतिको विषयमा छलफल हुने एमालेले जनाएको छ।
आन्तरिक विवादले पार्टी विभाजन उन्मुख बनिरहेको समयमा सत्तारुढ नेकपा एमालेको बैठकलाई महत्वपर्ण रुपले हेरिँदै आएको छ। कर्णालीमा ‘फ्लोर क्रस’को आत्मघाती रोग एमालेमा देशव्यापी फैलिने सन्त्रास छ। माधवकुमार नेपालको नेतृत्वमा देशैभरी समानान्तर संरचना बनिरहेका छन्। त्यसमा आक्रामक बनेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार मात्र नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ३२ सांसदलाई ‘किन नहटाउने ?’ भन्ने स्पष्टीकरण सोधेका थिए। उनीहरुबाट स्पष्टीकरण जवाफ आइसकेकाले सोहि विषयमा पनि बैठकमा छलफल हुने एमालेले जनाएको छ।
सोमबारको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। माधव समूहलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने निर्णय उक्त बैठकले निर्णय गरेको थियो।
नेपाल पक्षका नेताले बुधबार मात्रै ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको १४ बुँदे मागसहितको रिटमा आफूहरूलाई गर्न लागिएको निष्कासनको कारवाही बदर गर्न भनिएको छ। आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ। उनीहरुको निवेदनमाथि आइतबार सुनुवाई पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
बिहीबार केन्द्रीय कार्यालयको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुट चलाएर अराजकता मच्चाउने अनुशासनहीनहरूसँग कुनै सम्झौता नहुने प्रष्ट पारे। उनले अर्को पार्टी खोलेर हिँड्दा पनि पार्टीलाई क्षति नहोस् भनेर कारवाही नगरेर सम्झाइ-बुझाई गर्ने प्रयास र सच्याउने विषयमा नै केन्द्रित रहेकाले कमजोरी नठान्न चेतावनी दिएका थिए।
यसैबीच बुधबार र बिहीबार वरिष्ठ नेता नेपाल र ओलीबीच ‘वान टू वान’ भेटवार्ता भएको थियो। वार्ताको सुरुवातमा केही बेर पार्टी नेता तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए। ‘वान–टु–वान’ वार्ताको वातावरण बनाइदिएर उनी निस्किए।
वार्ताको व्यवस्थापन भने प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले गरेका थिए। तर वार्तामा कुनै प्रगति हुन सकेको छैन। भेटघाटमा प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रस्ताव गरेका थिए। तर, नेपालले दाहालसँगको निकटता घटाएका छैनन्।
यसैबीच बिहीबार साँझै प्रधानमन्त्री ओली र वामदेव गौतमबीच पनि भेटवार्ता भएको छ। संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार प्रधानमन्त्रीको संवादपछि बामदेवले भने, ‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले)को अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो रअटुट रहिरहनेछ।’  
को-को सांसदलाई सोधिएको थियो स्पष्टीकरण ?
नेपाल पक्षका नेताले हालै कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका थिए।  प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत छन्। 
यस्तै मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरूलाई स्पष्टीकरण सोधिएको छ।  
कर्णालीमा फ्लोर क्रस गरेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ। अन्नपूर्ण पोस्टमा खवर छ ।

 

Views: