d

महासंकट भित्र्याउदै जमुनाह नाका, दिल्लीको को जस्तो भयावह अवस्था नेपालमै देखिने संकेत

Views:
Responsive Image Gallery
Responsive Image Gallery
१२ वैशाख, जमुनाहा नाका (बाँके) । आइतबार अपरान्ह तीन बजे बजेको छ । बाँकेस्थित जमुनाहा नाकामा भारतबाट पोको पुन्तुरा बोकेर आउनेहरुको लर्को छ, हेल्थ डेस्कमा उस्तै चाप छ ।
त्यही बेला हेल्थ डेस्क छेउमा एउटा गाडी आइपुग्यो र दुईजना फटाफट चढेर हुँइकिए । गाडी अगाडि बढेपछि हेल्थ डेस्कका एक कर्मचारीले भने, ‘कोरोना संक्रमितलाई त्यत्तिकै घर पठाउनु अपराध हो, तर के गर्ने हामी निरुपाय छौं… ।’
हेल्थ डेस्कका कर्मचारीहरुका अनुसार, गाडी चढेर गएका दुई अधवैंशेको एण्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । तर नाकामा संक्रमितलाई राख्ने ठाउँ नभएका कारण उनीहरु भाडाको गाडी बोलाएर घर गएका हुन् ।
त्यसरी सिधै घर जाने संक्रमितको सूची लामो छ । बिना परीक्षण घर जानेको संख्या झन् ठूलो छ ।
हेल्थ डेस्कका कर्मचारीहरुका अनुसार ६ चैतदेखि ११ वैशाखसम्म जमुनाहा नाकामा जम्मा २९३ जनाको एण्टिजेन परीक्षण गरिएको छ । हरेक दिन ६ हजारभन्दा बढी मानिस आउने नाकामा एक महिनामा करिब ३०० जनाको परीक्षण ?
‘यो पर्याप्त होइन, तर के गर्ने ?’ नाम उल्लेख नगर्ने सर्तमा कुरा गर्न तयार भएका एक कर्मचारीले भने, ‘संक्रमण पुष्टि भएकाहरुलाई त राख्ने ठाउँ नभएर घर पठाउनु परेको छ भने धेरै टेष्ट गरेर मात्र के गर्ने !’
एण्टिजेन परीक्षणको तथ्याङ्क र नाकामा देखिएको दृश्यले नेपालगञ्जको भेरी अस्पताल र कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजले जटिल संक्रमितको चाप थेग्न नसक्नुको कारण मात्र देखाइरहेको थिएन, अन्य ठाउँहरुमा पन्पिरहेको महासंकटको संकेत पनि गरिरहेको थियो ।
सरकारको हदैसम्मको असंवेदनशीलता र प्रहरी–प्रशासनको लाचारी पनि छताछुल्ल भइरहेको थियो । जमुनाह नाकाको दृश्यले न नेपालगञ्जमा लकडाउन भएको संकेत गर्थ्यो, न त भारतमा भयावह बनेको कोराना महामारीबारे नेपालमा जानकारी भएजस्तो देखिन्थ्यो ।
जबकी, भारतको उत्तर प्रदेश, उत्तराखण्ड, दिल्ली, मुम्बई, महाराष्ट्रलगायतका ठाउँको कोरोना संकटबाट फुत्किन रुकुम, रोल्पा, दाङलगायतका नेपालीहरुको लर्को छ । त्यसमा थपिएको छ, किनमेल गर्न भारतीय बजार जाने र फर्कने नेपालीहरुको भिड ।
चार कर्मचारी रहेको सीमा नाकामा हेल्थ डेस्क नाम मात्रको छ, प्रहरीहरु ओहोरदोहोर गर्नेहरुलाई नदेखेझैं गर्न विवश छन् ।नेपालपट्टी बसेका कर्मचारीलाई खचाखच यात्रु व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । टाँगा, अटो सबैलाई यात्रु ओसार्न भ्याइनभ्याइ छ । स्वास्था सुरक्षा मापदण्डको कसैलाई वास्ता छैन ।
‘टाढा–टाढाबाट तीन–चार दिन लगाएर आएका नेपाली दाजुभाइ दिदीबहिनीलाई पारी नै रोक्न, लाठी चार्ज गर्न मिल्दैन, सकिन्न’, सीमा नाकाको निर्वाध आवागमनबारे सोधिएको प्रश्नमा एक प्रहरी अधिकृतले भने, ‘सरकारले यहाँ केही दिन राख्ने व्यवस्था गरिदिए हामी चौबिस घण्टा खट्ने थियौं ।’
तर सिमानामा झारा टार्ने काम भइरहेको बताउँदै उनले थपे, ‘भारतमै संक्रमण भएर आएकाहरुलाई गाउँ–गाउँ पुग्न दिइएको छ । नाकामा होल्डिङ सेन्टर मात्र बनाइदिएको भए यस्तो लथालिंग हुन दिने थिएनौं ।’
सीमा नाकामा खटिएका कर्मचारी र प्रहरीहरु नेपालमा अब देखिन सक्ने परिणाम सम्झेर थर्कमान छन् । तर उनीहरुसँग न मानिसहरुलाई रोकेर व्यवस्थापन गर्ने अख्तियारी छ न त स्रोत साधन । ‘सम्भावित संकटको साक्षी बन्दै छौं’, एक कर्मचारी भन्छन्, ‘अब यता पनि कोरोनाले दिल्लीमा जस्तै ध्वस्तै पार्नेभो ।’
जनस्वास्थ्यविद्का अनुसार अहिले भारतबाट आएकाहरुमा ज्वरोलगायत लक्षण नदेखिएपनि उनीहरु शंकास्पद संक्रमित हुन् । उनीहरुलाई केही समय क्वारेन्टिनमा राख्नैपर्छ ।
तर क्वारेन्टिन त टाढाको कुरा, नाकाको हेल्थ डेस्कमा भारतको कुन ठाउँबाट आएको, कहाँ जाने, फोन नम्बरलगायत विस्तृत विवरणसमेत टिपिएको छैन । ज्वरो नाप्ने र भारतबाट आएकाहरुको संख्या टिपेर राख्ने काम मात्र हुन्छ ।
हामी त्यहाँ रहेकै बेला बेहुली लिन पारीबाट आएको एक हुल जन्तीले नेपागञ्ज उपनगरपालिकाका मेयर धवल शमशेर राणाको पत्र प्रहरी कमाण्डरलाई देखायो । मेयरले ‘नाकामा सहजीकरण गरिदिनुहुन’ भनेर सिफारिस गरेका रहेछन् ।
प्रहरीले नेपालगञ्जको बाटो खोलिदिएपछि फटाफट भारतीय पाहुनाहरुको ज्वरो नापेर हेल्थ डेस्कका कर्मचारीले भने, ‘नेताहरुको सोर्सफोर्सले पनि महामारीलाई मलजल गर्ने भयो । यताका मान्छेलाई पारी सस्तो तरकारी किन्न जान दिएन भने पनि नेताजीहरुको फोन आउँछ, अनि कहाँबाट हुन्छ कोरोना नियन्त्रण ?’
भारतमा कोरोना संक्रमणले सुनामीको रुप लिएपछि नेपाल फर्किनेहरुको भिडमा रोजगारीको लागि भारत गइरहेकाहरु पनि देखिए । रोल्पाबाट चण्डीगढ हिँडेको समूहको एक महिला सदस्यले कोरोनाले भेट्यो भने जता बसेपनि मर्ने नै त हो नि भनेर हिँडेको बताइन् । भारतको अवस्था तपाईंहरुलाई थाहा छैन ? भन्ने हाम्रो प्रश्नमा उनले सात वर्षकी छोरीको कपाल सुम्सुम्याउँदै भनिन्, ‘गाउँमा खानै नपाउने अवस्था आयो अनि के गर्नू ?’
सागर बुढाथोकी र चन्द्रबहादुर आलेले अनलाइन खबरमा समाचार लेख्नुभएको छ। 
Views: