d

आईपीएल: २०२० को आइ पी एल मुम्बई इन्डियन्सले जित्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
दुबई — मुम्बई इन्डियन्सले पाँचौंपल्ट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले मंगलबार फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
पहिलोपल्ट फाइनल खेलेको दिल्लीले मंगलबार मुम्बईलाई खासै ठूलो चुनौती दिन सकेन ।
टस जितेर ब्याटिङ रोजेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ७ विकेट गुमाई १ सय ५६ रनमात्र बनाउन सक्यो । मुम्बईले अहिलेसम्म फाइनल एकपल्ट मात्र हारेको थियो, त्यो विजय लक्ष्य पछ्याउँदा नै थियो । तर कप्तान रोहित शर्माले ६८ रन बनाएपछि मुम्बईले सजिलै १८.४ ओभरमा लक्ष्य पूरा गर्‍यो ।
गत वर्ष पनि मुम्बईले चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै उपाधि जितेको थियो । मुम्बईले यसअघि २०१३, २०१५ र २०१७ मा यो उपाधि जितेको हो । चेन्नईले तीन पटक उपाधि जितेको छ । दिल्लीमाथि मुम्बईको यस सिजनको प्रतियोगितामा यो चौथो जित हो । राउन्ड रोबिनको दुवै खेलमा विजय हात पारेको मुम्बईले शुक्रबार दिल्लीलाई क्वालिफायर १ मा ५७ रनले पराजित गरी फाइनल तय गरेको थियो ।
रोहितले दोस्रो पटक फाइनलमा अर्धशतक पूरा गरेका हुन् । उनले ५१ बलको इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरे । उनले क्विन्टन डी ककसँग मिलेर ४ ओभरमा ४५ रन जोडी मुम्बईलाई राम्रो सुरुआत दिलाए । पाँचौं ओभरको पहिलो बलमा मार्कस स्टोइनिसले डी ककलाई २० रनमा आउट गरे । सूर्यकुमार यादव १९ रनमा रनआउट भए ।
रोहितलाई एनरिच नोकिआले आउट गरे । आफूले सामना गरेको पहिलो ३ बलमा २ चौका र १ रन प्रहार गरेका किइरन पोलार्डलाई चौथो बलमा प्रतियोगिताका सर्वाधिक विकेटकर्ता कागिसो राबाडाले बोल्ड गरे । हार्दिक पाण्ड्ये ३ रन बनाई नोकिआको बलमा आउट भए । इशान किशन १९ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाई अविजित रहे । कान्तिपुर बाट साभार गरिएको।  
Views: