d

सरकारले परिश्रमिक दिएन भन्दै कोशी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

Views:
Responsive Image Gallery
Responsive Image Gallery
विराटनगर: कोरोनाभाइरस संक्रमणले महामारीको रूप लिँदै गइरहेका बेला विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी भने सोमबार काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।
संक्रमितको उपचार गरिँदै आएको कोभिड अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायत  स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा पाउन नसक्दा कोरोनाकालको जटिल परिस्थितिका बेला आन्दोलनमा जानुपर्ने बाध्यात्मक अवस्था आएको उनीहरुको भनाइ छ ।
‘हाम्रो माग पुरानै हो । तर सरकारले सम्बोधन गरेन,’ एक चिकित्सकले भने, ‘भर्ना गरेर संक्रमितको धमाधम उपचार गरिरहेका छौँ । अब भने माग पूरा नभएसम्म काममा फर्कँदैनौँ ।’ न्यूनतम पारिश्रमिक नपाएसम्म आफूहरु काममा नफर्कने उनको अडान छ ।
संक्रमणको दोस्रो लहर सुरु भएर कोरोनाले महामारीको रूप लिँदै गर्दा संक्रमितको उपचारमा खटिनुपर्ने चिकित्सक र नर्स भने न्युनतम सुविधाकै लागि काम छाडेर आन्दोलनमा गएपछि स्थिति थप संकटपूर्ण बन्नसक्ने देखिएको छ । एक सय ८० बेडको उपचार केन्द्रमा ६ जना नर्स, तीन जना पारामेडिक्स र पाँच जना चिकित्सक कार्यरत छन् ।
३२ जना संक्रमित बेड भर्ना भएरै अहिले उपचाररत छन् । आन्दोलनका कारण संक्रमितको उपचार प्रभावित बनेको छ । उनीहरुको जीवन जोखिममा परेको हो । स्वास्थ्यकर्मी आन्दोलनमा गएपछि उपचार नपाएर आफूहरु समस्यामा पर्ने अवस्था आएको गुनासो संक्रमितले गरेका छन् ।
चिकित्सकसहित कार्यरत स्वास्थ्यकर्मीमध्ये अहिले अस्पतालमा एक जना नर्सले मात्रै काम गरिरहेकी छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोभिड अस्पतालमा खटाइएकी  उनीबाहेक अरु भने संक्रमितको उपचार छाडेर आन्दोलनमा निस्किएका हुन् ।
सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त गरेका डाक्टर, नर्स र पारामेडिक्सले कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा पाएका छन् । कोरोना संक्रमण मत्थर हुँदै गएपछि उनीहरु एक महिना विदामा बसेका थिए । तर अहिले पुर्ननियुक्ति पाएर काममा फर्किए पनि स्वास्थ्यकर्मीले सरकारले तोकेको सुविधा भने पाएका छैनन् ।
‘आफ्नो जीवनको पनि ख्याल नगरिकन निकै जोखिम उठाएर कोरोना संक्रमितको उपचारमा खटिएका छौँ,’ एक नर्सले भनिन्, ‘तर सरकार भने आफैले तोकेको सुविधा दिन मान्दैन ।’ उनका अनुसार पटक–पटक सुविधा दिन माग गरिए पनि सरकारले वास्ता गरेको छैन । महामारीका बेला अग्रमोर्चामा खटिएर अहोरात्र काम गर्दा पनि सरकारले केही नसोच्दा धेरै दुःख लागेको उनको गुनासो छ । अन्नपुर्ण पोस्टमा खबर छ ल
 
Views: