d

गण्डकी प्रदेशमा सत्ता तानातान, मनाङे बनाइए नयाँ मन्त्री

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पोखरा :  गण्डकी प्रदेश सरकार जोगाउन एमालेले दीपक मनाङेलाई मन्‍त्री बनाएको छ। दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। 
प्रदेशसभामा आफूविरुद्ध पेस भएको अविश्‍वास प्रस्तावलाई फेल गराएर सरकार जोगाउने रणनीतिअनुसार मुख्यमन्‍त्री पृथ्वी गुरुङले उनलाई मन्‍त्री बनाएका हुन्। गुन्डा नाइकेका रुपमा चर्चित मनाङे आपराधिक पृष्ठभूमिसहित ज्यान मुद्दाका अभियुक्त हुन्।सांसदमा निर्वाचित हुनुअघि मनाङे जेलमा थिए। मनाङेविरुद्ध ज्यानसम्बन्धी मुद्दा अदालतमा छ।  
२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका थिए। मनाङको प्रदेश (ख) बाट प्रदेश सभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए। 
निर्वाचित भए पनि अरु प्रदेश सभा सांसदले सँगै उनले शपथ लिन पाएका थिएनन्। बरु प्रहरीले उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा २०७५ वैशाख ६ गते पक्रेको थियो। १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिर बसेरै लड्न मिल्ने व्यवस्था अुनसार २०७५ पुस ६ गते उनी छुटेका थिए। 
शपथका लागि सोही वर्षको पुस ११ गते निवेदन दिए पनि लामो समयपछि अर्थात् निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उनको शपथ भएको हो। २०७५ माघ १४ गतेमात्रै प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई प्रदेश सभा सदस्यको शपथ दिलाएका थिए। 
२०६१ पुस ११ गते चक्रे मिलनलाई धारिलो हतियार प्रयोग गरेको अभियोग राजीवमाथि थियो। पुनरावेदन अदालत पाटनले २०६९ मा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यतिबेला फरार उनले पछि मुद्दा ब्युँतिँदा शपथ खान पाएका थिएनन्। 
पुनरावेदनको सजाय सच्च्याउन उनले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए। तर पुनरावेदनकै सजायलाई सर्वोच्च अदालतले २०७४ माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। तर २०७५ वैशाख ७ गते उनलाई प्रहरीले पक्राउ गर्‍यो। नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे गत पुस ६ गते छुटेका थिए। 
प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यसमेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए। 
सुरुआती दिनमा राप्रपासँग निकट उनी कुनै बेला कांग्रेससमेत भएका थिए। गुरुङ २०७४ असोजमा एकाएक एमाले छिरेका थिए। तर एमालेबाट टिकट नपाएपछि उनी स्वतन्त्र हैसियतमा उम्मेदवार बने, पछि एमालेले समर्थन गर्‍यो, अनि चुनाव जिते।
२०७६ असार २० गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए। तर नेकपाले पार्टी प्रवेश गराएको पत्र संसदमा नदिएकैले राजीवले आफूलाई स्वतन्त्र बताउँदै आएका थिए।  अन्नपूर्ण पोस्टमा खबर छ । 
Views: