d

उद्योगी, व्यवसायीले आफ्ना सबै अक्सिजन  सिलिन्डर सरकारलाई दिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery
२६ वैशाख, काठमाडौं । क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रिल व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड-१९को महामारी बढ्दै गएपछि देशभर नै अक्सिजन सिलिन्डरको अभाव देखिएको छ ।
यसका कारण कतिपयले ज्यान समेत गुमाउन थालेपछि उद्याेगी/व्यवसायीले घोषणा गरेर नै अक्सिजन सिलिन्डर सरकारलाई दिन सुरु गरेका हुन् ।
नेपाल क्रसर तथा खानी उद्योग महासंघले एक अपिल सार्वजनिक गर्दै राष्ट्रिय विपद्को यो समयमा आफ्नो उद्योगसँग रहेका सबै अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन आहृवान गरेको छ ।
महासंघले आफ्नो जिल्ला तथा प्रदेश संघमा रेकर्ड राखेर सबै उद्योगमा रहेका खाली तथा अक्सिजन भरिएका सिलिन्डर सरकारलाई उपलब्ध गराउन उद्योगीहरुलाई आह्वान गरेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै भएको अक्सिजन अभावप्रति महासंघको ध्यानाकर्षण भएको महासचिव पुरुषोत्तम रेग्मीले बताएका छन् ।
रेग्मीका अनुसारका अहिले देशभर ६ सय हाराहारी क्रसर उद्योग दर्ता भएका छन् । एउटा उद्योगमा कम्तिमा २ देखि बढीमा १५-२० वटासम्म सिलिन्डर रहेको हुन्छ ।
महासंघले देशैभर रहेका उद्योगबाट अक्सिजन सिलिन्डर सरकारलाई दिने निर्णय गरेको हो । यसअनुसार देशभरबाट करिब ३ हजार देखि ३५ सयसम्म सिलिन्डर जम्मा हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
राजधानी र मूख्य शहर आसपासमै धेरैजसो क्रसर उद्योग रहेका कारण संकलनमा समेत समस्या नहुने उनको भनाई छ । ‘हामी मुलुक र जनतामा परेको संकटमा थोरै भएपनि मल्हम लगाउन चाहन्छौं,’ उनले भने । रेग्मीले आफ्नो धादिङस्थित उद्योगमा रहेका ६ वटा सिलिन्डर स्थानीय तहमा हस्तान्तरण गरेको समेत जानकारी दिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले पनि महामारीमा जीवन रक्षा लागि जलविद्युत आयोजनाका वर्कसपहरुमा रहेका अक्सिजन सिलिन्डर उपलब्ध गराउन जलविद्युत आयोजनाहरुलाई निर्देशन दिएको छ । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार आयोजनाका ठेकदारले वेल्डिङ गर्न अक्सिजनका सिलिन्डर प्रयोग गर्ने गरेका छन् ।
‘अहिले वेल्डिङमा नयाँ प्रविधि पनि आएकाले पहिलेजस्तो ठूलो संख्यामा अक्सिजन सिलिन्डर नहुन सक्छ,’ उनले भने,’तर, जति छन्, स्थानीय सरकारमार्फत स्थानीय स्वास्थ्य संस्थालाई उपलब्ध गराउन हामीले औपचारिक रुपमा विज्ञप्तिमार्फत नै आग्रह गरेका छौं ।’
उनका अनुसार थुप्रै आयोजनाले स्थानीय तहरुलाई सिलिन्डर जिम्मा लगाइसेकका छन् भने कतिपयले बुझाउने प्रक्रिया अघि बढाएका छन् । मान्छेले अक्सिजन नपाएर जीवन गुमाउनुपर्ने अवस्था नआओस् भनेर इप्पानले यस्तो आग्रह गरिएको बताएको छ ।
अनलाइनखबर बाट।

 

 

 

 

Note: All of the feeds and documents are collected from onlinekhabar.com
Views: