d

पत्रकार महासंघ झापाको अभियान: संक्रमित पत्रकारको घरघरमा पोषिलो खानेकुरा, औषधि र योग शिक्षा

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा । पत्रकार महासंघ झापाले कोरोना कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाली पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याएको छ ।
पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि उच्च मनोबल बढाउन र उपचारमा सहयोग पुर्याउने उद्देश्यले पोषिलो खानेकुराको प्याकेज सहित आयुर्वेदिक औषधि र योग प्रशिक्षकहरु लिएर प्रत्येक संक्रमित पत्रकारका घरमा पुगेको हो । 
। 
संक्रमित पत्रकारहरुलाई पत्रकार महासंघ प्रदेश नं.१ को पहल तथा झापा शाखाको समन्वयमा बुधवार मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल)  इलामको टोलीले संक्रमित १० पत्रकारको घरमा आयुर्वेद औषधि वितरण गर्नुका साथै श्वासप्रश्वासमा लाभ पुग्ने विभिन्न योग विधि समेत सिकाएको छ ।
अस्पतालका वरिष्ठ कविराज निरीक्षक तीर्थराज आचार्य नेतृत्वको टोलीले औषधि वितरण र योग विधि सिकाएको हो ।
स्वास्थ्य कार्यालय इलामको सहयोगमा उक्त औषधि वितरण गरिएको थियो । टोलीले अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, जेठी मधु, त्रिकटु लगायतका औषधि वितरण गरेको थियो । त्यसक्रममा संक्रमित पत्रकार र पत्रकारका परिवारलाई भास्ट्रीका प्रणायम्, कपालभाती प्रणायम्, अनुलोम विलोम प्रणायम्, उज्जयी प्रणायम्, हस्त पदासन, ताडकासन लगायतका विधि सिकाइएको थियो । पत्रकारहरु नरेन्द्र ढकाल, भीमा शिवाकोटी, गोपाल काफ्ले, पारस तिम्सिना, पुष्प बराल, दिपेन्द्र पौडेल, राजु अधिकारी, सन्तोष आचार्य, पर्वत पोर्तेल, विगम श्रेष्ठको निवासमै पुगेर उक्त सेवा प्रदान गरिएको हो ।
त्यस क्रममा हाल ओम आइसोलेसनमा रहेर स्वास्थ्य लाभ गरिरहेका सबै पत्रकारले महासंघ जिल्ला तथा प्रदेशको टोली र आयुर्वेदको टोलीलाई धन्यवाद ज्ञापन गर्दै आफूहरुको मनोबल उच्च बनाउन सहयोग पुगेको बताएका थिए ।
टोलीमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महासंघ प्रदेश नं १ का तर्फबाट सदस्य तोया भट्टराई, प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, सदस्य रञ्जित परियार, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय झापाका डा. अनिल यादव लगायत सहभागी थिए ।
इलाममा भने आयुर्वेद औषधालयले कोभिड नियन्त्रणका लागि घर–घरमा मेची आयुर्वेद भन्ने अभियान सञ्चालन गरेको छ । झापामा पत्रकार महासंघको पहल र समन्वयमा उक्त टोली आएको हो । आयुर्वेद अस्पताल इलामका वरिष्ठ कविराज निरीक्षक आचार्यले महामारीको बेला यस्तो अभियान देशभरि चलाउन आवश्यक रहेको बताएका छन् ।
हाल सम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । एक जनाको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् । आम  सञ्चार ।
Views: