d

अमेरिकनहरु यसकारण मास्क लगाउदैनन्

Views:
Responsive Image Gallery
Responsive Image Gallery
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकाभरका स्वास्थ्यकर्मीहरुमा गरेको व्यापक अध्ययनबाट पूर्ण खोप ग्रहण गरेका मानिसहरु सामान्यतः मास्क बिनै हिड्न सक्ने ठहर गरेको हो ।
कोरोना विरुद्धको खोप अभियानको सुरुवातमै अमेरिकामा स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइन वर्करहरुलाई खोप लगाइएको थियो । त्यस क्रममा लगाइएका मोडेर्ना र फाइजर खोपको पूर्ण मात्रा लिएका व्यक्तिहरु कोभिड संक्रमणबाट ९४ प्रतिशत सुरक्षित भएको अध्ययनले देखाएको छ । जबकि एक डोज मात्रले पनि मानिसहरुलाई ८४ प्रतिशत सुरक्षा प्रदान गर्ने देखिएको सिडिसीको साप्ताहिक रिपोर्टमा उल्लेख छ ।
सिडिसीका निर्देशक डाक्टर रेचेल वालेन्स्कीका अनुसार यो पछिल्लो अध्ययनबाट कसले र कहिले मास्क लगाउनुपर्ने भन्ने विषयमा यसअघि दिइने सुझावहरु खुकुलो बनाउन सघाउ पुगेको छ । उनका अनुसार यो अध्ययनबाट प्राप्त जानकारीहरु कोभिड १९ विरुद्धका भ्याक्सिनले वास्तविक रुपमा राम्रो काम गरिरहेका छन् भन्ने कुराको अहिलेसम्मकै दह्रो प्रमाण हो ।
सिडिसीका अनुसार कोभिड १९ भ्याक्सिनहरु कोरोना भाइरस संक्रमण रोक्न, सिकिस्त विरामी हुन तथा मृत्युबाट समेत जोगाउनका लागि प्रभावकारी सावित भएका छन् । साथै खोपका कारण मानिसहरुले भाइरस फैलाउने जोखिम समेत कम हुने अध्ययनको निष्कर्ष छ ।
पूर्ण खोप लगाएका मानिसहरुले समेत आफ्नो नाक, मुख, घाँटी, स्वास तथा थुक लगायतमा भाइरस बोक्ने र उनीहरुबा अन्य मानिसहरुमा भाइरस सर्ने जोखिम रहेको बताउने गरिएको थियो । तर पछिल्लो अनुसन्धानले पूर्ण खोप लगाएका मानिसहरुले यसरी भाइरस बोक्ने सम्भावना नरहेको पुष्टि भएको छ ।
यसको कारण हो भाइरल लोड । हालसम्मका कम्तिमा ३ वटा अनुसन्धानले के देखाएका छन् भने पूर्ण रुपमा खोप लिएका मानिसहरुमा कोरोना भाइरस संक्रमण हुने सम्भावना निकै कम हुन्छ । यसको अर्थ पूर्ण खोप लगाएका व्यक्तिले आफ्नो सरीरमा भाइरस बोक्दैनन् चाहे लक्षणयुक्त होस् वा लक्षण वीहिन ।
सिडिसीका साथै इजरायलमा गरिएको अध्ययनले समेत पहिलो डोज मात्र खोप लगाएका मानिसहरु संक्रमित भैहाले पनि उनीहरुको सरीरमा भाइरल लोड निकै कम हुन्छ । अर्थात् खोप लगाएका संक्रमितको सरीरमा भाइरसको संख्या खोप नलगाएकामा भन्दा ४ गुणा कम हुन्छ । यसले त्यस्ता मानिसहरुबाट अन्य मानिसमा भाइरस सर्ने जोखिम पनि कम हुन्छ ।
विज्ञहरुका अनुसार अमेरिकामा हाल झण्डै ४७ प्रतिशत मानिसले कम्तिमा एक डोज खोप लगाइसकेका छन् भने ३६ प्रतिशतले दुबै डोज लगाइसकेका छन् । जोखिममा रहेका धेरै मानिसहरुले खोप लगाएको हुनाले अमेरिकामा कोभिड संक्रमणको दर निरन्तर ओरालो लागिरहेको छ । त्यसैले पूर्ण खोप लगाएका मानिसहरुले मास्क लगाउनु नपर्ने गरी धेरै राज्यहरुमा नियम खुकुलो बनाइँदैछ ।  अनलाइन खबर। 
Views: