d

आमाको कुराले कोरोना जित्ने अर्को औषधि आत्मबल पनि रहेछ भन्ने लाग्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
नेपालगन्ज : नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्म कोरोना संक्रमणबाट अछुतो छैनन्। युरोप, जापान, अमेरिकालगायत देशमा ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक भए। नेपालमा भने ज्येष्ठ नागरिक धमाधम निको भइरहेका छन्। त्यहीमध्ये एक हुन्, ८४ वर्षीया सिधरा सेन। 
बाँकेको कोहलपुर नगरपालिका–२ की सिधरा आफूलाई कोरोना लागेको पुष्टि भए पनि डराइनन्। एक न एक दिन निको हुन्छ भनेर आत्मबल उच्च राखिन्। ‘आमाले कहिल्यै हार खानुभएन। एक न एक दिन निको हुन्छ भन्नुभयो’, छोरा शिवले भने, ‘आमाको कुराले कोरोना जित्ने अर्को औषधि आत्मबल पनि रहेछ भन्ने लागेको छ।’
सिधराले लगातार यति लामो समय कहिल्यै औषधि खाइनन्। ‘म अहिलेसम्म अस्पताल भर्ना भएकी छैन। अहिलेजस्तो यति बिमारी पनि भाथेन’, सिधराले भनिन्, ‘बिमारी हुँदा किडामिडा र जडामडा खाएर सञ्चो हुन्थ्यो। अहिले पो सबैतिर डाक्टर र औषधि पाइन्छ। हाम्रो जमानामा जडिबुटीबाट उपचार हुन्थ्यो।’ त्यही जडिबुटीयुक्त खान्कीले होला, उनलाई झट्ट हेर्दा ८४ वर्ष लागेको भान हुँदैन। कोरोना संक्रमणपछि पनि उनको मुहार धपक्क बलेको देखिन्छ। 
दैलेखको खरिगैरास्थित पहाड घरबाट वैशाख पहिलो साता फर्कने क्रममा सुर्र्खेतमा बास बस्दा उनलाई ज्वरो आयो। ज्वरोले दुई दिनसम्म सतायो। त्यसपछि कोहलपुर फर्किन्। 
छोरा शिवलाई पनि ज्वरो आएको थियो। औषधि खाँदा पनि निको नभएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वाब परीक्षण गराए। रिपोर्ट पोजिटिभ आयो। कन्ट्याक्ट टे«सिङका आधारमा परिवारका थप दुई जनामा संक्रमण भएको पत्ता लाग्यो। परिवारका तीन पुस्ता (८४ वर्षीया सिधरा, ५० वर्षका छोरा शिव र नातिनी २५ वर्षीया नैविद्या)लाई कोरोना पुष्टि भयो। 
अस्पतालका डा.देवेन्द्र आचार्यले सुझाएको औषधि सेवन गर्दै परिवारका सबै जना होम आइसोलेसनमै बसेर निको भएका छन्। घरमै रहेका बुहारी, नाति, नातिनी बुहारीसँग दूरी कायम गरेर बसेकाले कोरोना लाग्नबाट जोगाएको उनले बताइन्। ‘सुरुमा ज्वरो आयो। अलिअलि पखाला लाग्यो’, उनले भनिन्, ‘ज्वरोको औषधि खाँदा पनि निको भएन। जाँच गर्दा कोरोना लागेको थाहा भयो।’ 
symbolic cover image: CIDRAP
उनी शाकाहारी खाना खान्छिन्। खान्कीमा नयाँ केही छैन। ‘बिहान जडिबुटीयुक्त तातो रस (घोडामर्च, अदुवा, बेसार, तुलसी, ल्याङ, सुकमेल मिसाएर) खान्छौं। बिहान बटैको अण्डा पनि खान्छु। २ छाक साँझ दाल, भात तरकारी, साग हुन्छ। त्यसपछि खाजामा रोटी तरकारी र बेलुका एक गिलास दूध खान्छु’, उनले आहारबारे जानकारी दिइन्।
स्वाद लक्षण उनले पनि भोेगिन्। ‘कोरोना लागेको बेला फिटिक्कै खान मनलाग्दो रहेनछ। मन लागेन भनेर खान छोड्नुहुँदैन। सकि नसकि भए पनि तातो खानेकुरा खानुपर्छ। त्यसमा पनि झोल पदार्थमा अझ बढी। चबाएर खान नसके ढिंडो खान सकिन्छ। च्याख्लाको भात खाए पनि भयो। गेडागुडी र सागपात खानुपर्छ’, उनको सुझाव छ, ‘गन्ध र स्वाद त अझै फर्केको छैन। पहिलेजस्तो जाँगर पनि छैन। कोरोनाले निकै गलाउने रहेछ। कोरोना जित्न पनि खानुपर्छ।’
सरकारले नै कोरोना संक्रमितको पहिचान लुकाउँछ। संक्रमित पनि बताउन चाहँदैनन्। सेन परिवारले भने छिमेकी र आफन्तलाई कोरोना लागेको निर्धक्क बताए। ‘हामीदेखि टाढै बस्नुस् भन्यौं। परिवारका सदस्यबीच पनि दूरी कायम गर्‍यौं’, शिवले भने।
समयमै कोरोना परीक्षण गरी औषधि सेवन गरेकाले सेनको तीन पुस्तालाई श्वास–प्रश्वासको समस्या भएन। घरमै बसेर उपचार भयो। अस्पतालका भरिभराउ शय्यामा संक्रमित र कुरुवाका चित्कार सुन्नुपरेन। अक्सिजन चढाउनु नपरेकाले चाँडै निको पनि भयो। ‘कोरोनाबाट जोगिन धेरै मानिससँग घुलमिल नहुनुस्। सामाजिक दूरी कायम गर्ने गर्नुस्। मास्क र स्यानिटाइजर प्रयोग गरिरहनुस्’, उनले सुझाव दिए, ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै पीसीआर परीक्षण गराएर औषधि खाइहाल्नुस्। यसमा ढिलाइ गर्नुहुँदैन। हेलचेक्रयाइँ गर्दा ज्यानै जाने खतरा पनि हुनसक्छ।’ 
अन्नपुर्ण पोस्टमा शंकरप्रसाद खनालको लेख
Views: