d

राष्ट्रियसभा सदस्य पदको निर्वाचन आज, कसले मार्ला बाजी ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery
हेटौंडा  : बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ।
Image: Swadesh Nepal
निर्वाचनका लागि हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ। मतदान केन्द्रमा आवश्यक तयारी पूरा भएको कार्यालयले जनाएको छ। बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख गोविन्दप्रसाद पौडेलले बताए। 
बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ। 
तर, एमाले भित्रको पछिल्लो समीकरण पछि नेपाल पक्ष मौन रहेको छ। नेकपा एमालेको आधिकारिक उम्मेदवार आफू भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेकाले आफ्नो जित निश्चित रहेको गृहमन्त्री थापाको दाबी छ। 
नेकपा एमालेभित्रको पछिल्लो समीकरणपछि नेकपा एमाले ओली पक्षले गृहमन्त्री थापा नै आधिकारिक उम्मेदवार भन्दै ह्वीप जारी गरेको छ। कांग्रेस, माओवादी र जसपाले आफ्नो उम्मेदवार नउठाएकाले देवकोटालाई समर्थन गरेको छ। देवकोटाले एमाले भित्रबाटै आफूलाई समर्थन रहेको र अन्य दलको पनि समर्थन रहेकाले जित निश्चित रहेको दाबी गरेका छन्। 
निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन्। बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ गरी ३ सय ४७ मतदाता छन्। 
राष्ट्रिय सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ पनि उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले थापालाई मत दिन ह्वीप जारी गरेको छ भने राष्ट्रिय जनमोर्चाले डा. देवकोटालाई भोट हाल्न निर्देशन दिएको छ।  अन्नपुर्ण। 
Views: