d

खनाल-नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमाले स्थायी कमिटीको निर्णय

Views:
Responsive Image Gallery
Responsive Image Gallery
 
काठमाडौं : नेकपा (एमाले)ले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर गर्ने ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 
एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोधिएको बताइएको छ। 
Photo: RAJAN KAFLE
 बैठकमा  माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय भएको छ। 
 स्पष्टीकरणको जवाफका आधारमा पार्टीले थप निर्णय गर्ने जनाएइको छ भने जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ। कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल भएको पार्टी प्रवक्ता समेत रहेका प्रदिप ज्ञवालीले बताए।  
शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिस गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। जसमध्ये केही सांसदले हस्ताक्षर दुरुपयोग बताएका थिए। हस्ताक्षर दुरुपयोग गरेको भनेर आरोप लगाउने सांसदसँग भने स्पष्टीकरण मागिएको छैन। बैठकले कोरोना भाइरसविरुद्धको लडाइँमा ध्यान केन्द्रित गर्ने निर्णयसमेत गरेको छ। 
Views: