d

संरक्षणको पर्खाईमा ग्वालडुब्बाकाे चौताराे

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झगेन्द्र खड्का
झापा, ९ जेठ । झापाको गौरादह नगरपालिका वडा नं -७ ग्वालडुब्बा बजारमा रहेको वर पिपल चौतारो जिर्ण अवस्थाको हुँदा पनि मर्मतमा कसैको ध्यान पुगेको छैन।थकाई लागेको समयमा वा प्रचण्ड गर्मी भएको समयमा सितल छहारीमा आराम गर्ने चौतारी अहिले अब्यवस्थित भएको छ।
गर्मी भएको समयमा आराम गर्ने मानिसहरुले खचाखच भरिने चौतारो भत्किएर जिर्ण अवस्थामा पुगेकाले अहिले बेवारिसे अवस्थामा पुगेको छ। ग्वालडुब्बा बजारको बीचमा सार्वजनिक स्थलमा २०४२ सालमा स्थानीय तिलक बहादुर बिष्टले गेट सहितको सो पक्की चौतारो निर्माण गरेका थिए। चौतारो निर्माण गरेको ३६ बर्ष हजार्रौलाई सितल छहारी दिएको पक्की चौतारोले यतीखेर मर्मत सम्माहारको खोजि गरिरहेको छ।
चौतारो भएको स्थलमा रहेका वर र पिपलका रुखहरु अहिले पनि हरियै छन्। वर र पिपलका रुख ठुलो हुँदा झाङगिएर झन धेरै सितल छहारी दिने भएको छ।सार्वजनिक स्थलमा भएको चौतारो स्थानीय सरकारले मर्मत सम्माहार गर्नु पर्ने हो। चौतारो मर्मत सम्माहारका लागि स्थानीय सरकारको पनि ध्यान पुगेको छैन।
पाटी, पौवा, फलैचा, चौतारो जस्ता सार्वजनिक सम्पत्तिहरुको मर्मत समाहार र संरक्षण स्थानीय सरकारले गर्नु पर्नेमा चौतारो मर्मतमा स्थानीय सरकार मौन छ।चौतारो भत्किएर सजिलो गरी बस्न योग्य नभएकाले वर पिपलको सितल खान जाने मानिसहरुलाई धेरै असजिलो भएको छ ।
एक समयमा मानिसहरु ग्वालडुब्बा बजारमा जानु भन्दा अगाडि बजारमा भेट गर्ने स्थान पनि त्यही चौतारोलाई बनाउने गर्दथिए। चौतारोले बजारमा आउने मानिसहरुलाई विश्राम स्थलको काम गरेको थियो। भत्किएर जिर्ण भएपछि चौतारोलाई सरसफाइ राख्नु पर्नेमा स्थानीयले बाख्रा, गाई जस्ता चौपाय बाधेर फोहोर बनाउने गरेका छन्।
पाडाजुँगी गौरीगंज सडक खण्डको छेउमा रहेको चौतारोको अगाडि ढुङ्गा,गिटी, बाँस तथा अन्य घर भत्किएर निस्किएका सामाग्रीहरु थुपारेर चौतारो जाने ठाउँमा अबरोध सृजना गरेका छन्।चौतारो सबैलाई चाहिन्छ यो हाम्रो सम्पत्ति हो भनेर स्थानीयहरु स्वयम् संरक्षणमा जुट्न आवस्यक छ ।

 

No description available.

 
बजारमा आफ्ना बुवाले बनाएको चौतारो अहिले जिर्ण बनी ब्यवारिसे अवस्थामा पुगेको देख्दा दुःख लागेको तिलक बहादुरका छोरा अमर बहादुर बिष्टले बताए। २०४२ सालमा ३५ हजारको लगानीमा गेट सहितको पक्की चौतारो निर्माण गरिएको बिष्टले बताए। वर पिपलको रुख र चौतारोले बजारको सोभा बढाउने र मानिसहरुलाई विश्राम स्थल समेत हुने भएकाले चौतारो निर्माण गरेको बताए।
केही बर्ष पहिले आफुले मर्मत तथा सरसफाइ गरेपनि अहिले मर्मत र सरसफाइको अभावमा अब्यबस्थित बनेको बिष्टले बताए । सार्वजनिक स्थलमा बनाएकाले स्थानीय सरकारले मर्मत सम्हार र संरक्षणका लागि जिम्मा लिनुपर्ने उनको भनाइ छ।
आफूले पटकपटक चौतारो मर्मत सम्हारका लागि अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताउदै बजार व्यवस्थापन समितिले पनि रेखदेख गर्नु पर्ने बिष्टले बताए। पाडाजुँगी गौरीगंज सडक छेउमा चौतारो रहेकाले सडक बिस्तार गर्दा चौतारो सडकमा पर्न सक्ने भएकाले मर्मत नगरिएको वडा नं -७ का वडा सदस्य अमरदास सिवाकोटीले बताए।
चौतारो सार्वजनिक स्थलमा भएपनि अमर बहादुर बिष्टका बुवाले बनाएकाले उहाँहरुसँग सल्लाह गरि आगामी आर्थिक बर्षमा बजेट बिनियोजन गरि मर्मत तथा सरसफाइ गर्न सकिने सदस्य सिवाकोटीले बताए।
चौतारो निर्माण भएको ठाउँमा रहेका वर र पिपलका रुखहरु धेरै पुराना भएकाले हाँगाहरुपनि किराले खाएर मकिएका हुँदा त्यसलाई व्यवस्थित बनाउन जरुरी भएको ग्वालडुब्बा बजार व्यवस्थापन समिति अध्यक्ष राज कुमार अधिकारी बताउँछन्। स्थानीय सरकारले बजेटको व्यवस्था गरि आधुनिक तरिकाबाट व्यवस्थित चौतारो निर्माण गर्दा राम्रो हुने अध्यक्ष अधिकारीको भनाइ छ।
अक्सिजनको चौतर्फी अभाव भैरहेको समयमा अक्सिजनको प्राकृतिक श्रोत वर पिपल सहितका चौताराहरु संरक्षण गर्न आवस्यक छ ।
 
Views: