d

कबिता: अंध्यारो गोठ

Views:
Responsive Image Gallery
Responsive Image Gallery
कबिता 
शीर्षक : अंध्यारो गोठ
 
-------------------------
सधैँ आमालाई सताउंदै 
लुटपुटिएर निदाएकी,
तिखा कुहिनाले आमाको  
छातीमा बिझाएकी  
 
सानी थिई, 
दिन उज्यालो घामको किरणले  
रात न्यानो आमाको सिरानले  
इशारैले अलंकार बुझिदिन्थे  
कन्या भन्दै सबैले पुजिदिन्थे  
 
(तर आजको रात) 
उसलाई कसैले छुनभएन  
आमापनि साथ हुनुभएन  
सारा संसार बिरानो भैदियो  
चिसो ढुंगाको सिरानी भैदियो  
घर पर गोठ छ, 
गोठ पर समसान छ  
हिजोका ती सुनौला रात, 
(उसलाई आज सुनसान छ ।) 
 
उसले सुनेका कथामा, 
दुर्गा लक्ष्मी देवी थिए  
तिनैलाई भकिन्थियो  
पवित्र हुने आशामा शिर 
तिनैका पाउमा रखिन्थियो  
ब्रत पर्ब हुँदो हो त  
उसंग नया लुगा हुन्थ्यो  
शुभ कार्य थाल्नुअघि  
उसको समेत पुजा हुन्थ्यो  
(तर ऊ अहिले) 
एक्लै तारा गन्दैछे 
हृदयाभरि  मर्म बोकी  
बिधतालाई प्रश्न गर्दैछे  
 
नारीलाई देवी बताउने समाज  
उही देवी रिसाउने नाममा  
(किन, 
छोरीलाई छाउगोठ पठाउने गर्छ ??) 
मन्दिरभित्र जान निषेध  
मुहानको पानी खान निषेध, 
(उसको पाउले छोएको फललाई  
हिजो जसले प्रसादी भने) 
रजस्वलाको दुखाईले थिच्दा   
(तिनैले आज अपराधी माने .. ) 
ऊ सुन्छे ठुला भासण 
अनी झुटा आस्वासन 
बजेट छुट्टिएको सुन्छे  
तर प्रथा जिवितै पाउँछे  
प्रकृतिको प्रक्रिया भन्छे  
र  सहर्ष स्विकारि दिन्छे 
अघि सम्मको अमुल्य जीवन  
(तुरुन्तै आँफै धिक्कारि दिन्छे।) 
लुगलुग काँप्दै आँखाका  
गहभरि आँशु बोकी,
भिजेका ति निर्दोष नयन 
पुरै रात रुझ्ने पो होकी  
रगतको ओछ्यान माथि  
सहनै मुस्किल चोटमा छे, 
(चिसो भुइँमा डरलाई जिती,)  
(ऊ अँध्यारो गोठमा छे ।।)

रितिका आचार्य 
बिनायक कलेजअफ हेल्थ एन्ड साइन्स मध्यबानेश्वर काठमाडौ 
स्थाइ ठेगाना :
 गौरादह नगरपालिका  १ ,निलगिरि कोलनी प्रदेश न १ , झापा नेपाल

Views: