d

अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा कनकाई नगरपालिका, मेयरले दिए १० लाख  

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा : झापाको कनकाई नगरपालिका अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा जुटेको छ। 

अक्सिजन सिलिन्डर अभावले कोरोना संक्रमित बिरामी अकालमै ज्यान गुमाइरहेको अवस्था नगरपालिकाले गृहकार्य थालेको हो।  
 सङ्क्रमितको सङ्ख्या ह्वातै बढेपछि झापासहित देशभरका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिन थाले पछि नगरबासीलाई सुरक्षित राख्न  अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा नगरपालिका आफैं लागेको बताइएको छ।  
अस्पतालमा अक्सिजन सिलिन्डर अभावका कारण अकालमै सङ्क्रमितको ज्यान जानु घटना दुःखद् भएको भन्दै कनकाई नगरपालिकाले आफ्नै आन्तरिक स्रोत र स्थानीयको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना अघि सारेको नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जानकारी दिए। 
नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर पोखरेलले भने, ‘५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो, यसबाट नगरबासीसहित झापाबासी नै लाभान्वित हुने छ।’ 
नगरपालिका, स्थानीय स्तर, पूर्व विद्यार्थी, विभिन्न सङ्घसंस्था र देश विदेशमा रहेका व्यक्तिबाट अक्सिजन प्लान्टका लागि एक करोड सहयोग जुटाउने योजना रहेको मेयर पोखरेलको भनाइ छ। 
कनकाई ३ सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको हाताभित्र अक्सिजन प्लान्ट स्थापनाका लागि पहिलो चरणमा ६० लाख रकम सङ्कलन भइसकेको उनले बताए। भने, ‘यही आर्थिक वर्षभित्र यो रकम एक करोड पुर्याउने लक्ष्य राखेका छौँ, अक्सिजन प्लान्टका लागि करिब दुई करोड लाग्ने अनुमान गरिएको छ।’ पहिलो लहरमा नगरपालिकालाई स्थानीय स्तर र विभिन्न क्षेत्रबाट करोड बराबरको सहयोग जुटेको थियो। त्यसैलाई आधार बनाएर अक्सिजन प्लान्टका लागि एक करोड जुट्ने विश्वास नगरपालिकाले गरेको उनको भनाइ छ।
मेयरले दिए १० लाख  
नगरभित्र अक्सिजन प्लान्ट स्थापनाका लागि नगरका मेयर राजेन्द्रकुमार पोखरेलले १० लाख रुपैयाँ दिएका छन्। पोखरेलले ३ वर्षको पारिश्रमिक बापतको १० लाख रुपैयाँ अक्सिजन प्लान्टका लागि दिएका हुन्। 
मेयर पोखरेलले सो रकम बराबरको चेक नगरपालिकाकी उपमेयर मञ्जु दाहाल प्रसाईंलाई हस्तान्तरण गरेका छन्। निर्वाचन लड्नुअघि कोरोना महामारी आएको थिएन। 
‘यस्तो महामारी आउँछ भन्ने कल्पना पनि हामीले गरेका थिएनौँ,’ मेयर पोखरेलले भने, ‘महामारीबाट नगरवासीलाई बचाउने मुख्य दायित्वमा निर्वाचित जनप्रतिनिधिकै हो, त्यसैले तीन वर्षको तलब अक्सिजन प्लान्टका लागि दिएको हो।’ 
स्वास्थ्य केन्द्रलाई नगर अस्पताल 
कोरोना सङ्क्रमणका बिरामी बढेसँगै नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई प्रस्तावित कनकाई नगर अस्पताल बनाएको छ। प्रस्तावित नगर अस्पतालमा १५ शय्याको बनाएको मेयर पोखरेलले बताए। 
सङ्घ तथा प्रदेश सरकारले कोरोनाका संक्रमित बिरामीहरूलाई आइसोलेसन तथा उपचारको व्यवस्थापन गर्ने भनिएको भएता पनि त्यस अनुसारको उचित व्यवस्थापन दुवै सरकारले गरेको पाइएन।
त्यसैले स्थानीय सरकार कनकाई नगरपालिकाले संक्रमित बिरामीका लागि होम आइसोलेसन र प्रस्तावित नगर अस्पतालमा अक्सिजनसहितको सेवा सुविधाको आवश्यक व्यवस्थापन गरी उपचार सेवा सुरु गरिएको उनले बताए। ‘बिरामीलाई मध्यनजर गरी पहिलो चरणमा १५ शय्याको अस्पताल बनाएका छौँ,' उनले भने, ‘बिस्तारै नगर अस्पताललाई ५० शय्याको बनाउने योजना छ।’
हाल नगर अस्पतालमा ५ सयभन्दा बढी बिरामी परीक्षणका लागि आउने गरेको उनको भनाई छ। त्यसका लागि आवश्यक स्वास्थ्यकर्मी र जनशक्ति परिचालन गरेको उनले बताए। उनले आवश्यकताको आधारमा सङ्क्रमितको घर घरमा अक्सिजन सिलिन्डर समेत पुर्याइरहेको समेत जानकारी गराए। 
नगरमा हालसम्म ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये ३ सय ७९ जना निको भएको मञ्जु दाहाल प्रसाईंले जानकारी दिइन्। होम आइसोलेसनमा २ सय २९ जना संक्रमित रहेका छन्, भने विभिन्न अस्पतालमा ६ जना उपचाररत रहेका छन्।  सङ्क्रमणबाट हालसम्म नगरभित्र १३ जनाले ज्यान गुमाएको उनले बताइन्।थाहा खबर .
Views: