d

काठमाडौं महानगर: उपमेयर सहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि द्वारा नगरसभा बैठक बहिस्कार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

३ असार, काठमाडौं । उपमेयर हरिप्रभा खड्गीसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बिहीबार काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बहिस्कार गरेका छन् ।

मेयर विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि आफूहरुले नगरसभा बहिस्कार गरेको उपमेयर खड्गीले बताइन् । नगरसभा बहिस्कार गर्नेमा १३ वटा वडाका वडाध्यक्षसमेत रहेका छन् ।

महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बिहीबार ११ बजे नगरसभा बैठक बोलाइएको थियो । तर नीति तथा कार्यक्रम एकै चोटी नगर कार्यपालिकाको बैठकमा ल्याएर सुनाएको र सुधार गर्ने अवसर समेत नदिएको कारण सभा बहिष्कार गरेको उनले अनलाइनखबरसँग बताइन् ।

‘नीति तथा कार्यक्रममा केके राख्ने भन्ने विषयमा सोध्नु त भएको थियो तर पछि केके आए भन्ने कुरा एकैचोटी बैठकमा मात्रै सुन्यौं’ उपमेयर खड्गीले भनिन्, ‘सबैको हातहातमा दिएर केही सुझाव भए २ दिनभित्रमा दिनु भनेर समय दिनुपर्नेमा नीति तथा कार्यक्रम सुन्नमात्रै दिएको छ, सुनेरमात्रै हुँदैन भन्ने हाम्रो कुरा हो ।’

मेयर शाक्यले बिहीबार नीति तथा कार्यक्रम बहुमतले पारित गर्ने तयारी गरेको समेत उनले सुनाइन् । सभा बहिष्कार गरेपछि मेयर शाक्यले उपमयेर खड्गीलाई टेलिफोन गरेका थिए । तर आफूले सुधार्नु पर्ने कुरा नसुधारे सहयोग नगर्ने प्रतिक्रिया दिएको उनले बताइन् ।

अहिले कोरोना महामारी नै पहिलो प्राथमिकतामा पर्नुपर्ने विषय आफूहरुले उठाएको भए पनि मेयर शाक्य आफ्नै किसिमले अघि बढेको उपमयेरको आरोप छ ।

फाइल तस्बिर 

करको दायरा फराकिलो बनाई १० प्रतिशत रहेको घरबहाल कर लगायतमा छुट दिनुपर्ने कुरा समेत आफूले उठाएको खड्गीले बताइन् । वीर अस्पताललाई कोभिड अस्पताल बनाउने आफ्नो प्रस्ताव पनि नीति तथा कार्यक्रममा समेटिन नसकेको उनको भनाइ छ ।

‘हाम्रो कुरा सुन्नुभन्दा पनि संघीय सरकारकै हिसाबले अघि बढ्नुभएको छ, अहिले अन्य कुराहरु पनि उठेका छन्’ उनले भनिन्, ‘मोनोरेलको विषय नै हराएको छ, खै त्यो कहाँ गयो भनेर पनि वडाध्यक्षहरुले प्रश्न उठाउनु भएको छ ।’

बिहीबारको नगरसभा बैठकमा मेयर शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । अनलाइन खबर। 

Views: