d

कबिता: मलाइ बाँझो बस्न मन छ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मलाई रात संग डर लाग्छ
त्यो ओछ्यान संग उसै डर लाग्छ
तिम्रो प्रेमिल स्पर्श काँडाको घोचाइ जस्तो लाग्छ
तिमिले मलाई स्पर्श नगर्नु
मेरो नजिक नआउनु
तिमिले विर्यदान नगर्नु
मलाई यो देशमा बाँझिदै गएको खेतबारी जस्तै बाँझो बस्न मन छ ।

 

म कामदार उत्पादन गर्ने
फ्याक्ट्री बन्न सक्दिन
सिंहदरबारले गरेको सम्झौता अनुसार
कामदारको कोटा पूरा गर्न सक्दिन
म मेरै रगत निर्यात गर्न सक्दिन ।

 

हरेक दिन त्रिभुवन विमानस्थलबाट
विमानले लाखौं आमाहरुको खुसी सपना
उडाइ लैजान्छ
अफसोस! कति सपनाहरु, खुसीहरु समुन्द्र तिरै डुबि जान्छ्न
कति सपना खुसी रातो बाकसमा पोकिएर आइपुग्छन
म मेरो सपना , खुसी उडाइ लगेको हेर्न सक्दिन
बाकसमा पोकिएर आएको हेर्न सक्दिन।

 

म चाहान्छु
मेरो पौरखी सन्तानहरु
यहि माटोमा खेलोस, यै माटोमा हासोस
फुलावस सप्तरंगी फुलहरु यहि माटोमा
कहि कतै बाँझो न होस यो माटो ।

 

मैले मुटु दुखाएर
बनाएको मुटु
म दुरदेश पठाउन सक्दिन
बरु म यो देशमा बाँझिदै गएको खेतबारी जस्तै बाँझै बस्छु।

-मन्जु घिमिरे   इलाम

Views: