d

'जात नमिल्ने' केटी विवाह गरेको भन्दै बुवाको काजकिरिया गर्न बाट वन्चित, वडाध्यक्षलाई नै लाग्यो यस्तो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिका–का दुई तामाङ दाजुभाइ बाबुको काजकिरिया गर्नबाट बञ्चित भएका छन्।

'जात नमिल्ने' केटी विवाह गरेको भन्दै चम्पादेवी गाउँपालिका-३ ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्येष्टि र काजकिरियामा दुई छोरालाई सहभागी हुनबाट बञ्चित गराइएको हो। 

गत जेठ २९ मा घरमै निधन भएका ७० वर्षीय तामाङका चार भाइ छोरामध्ये माइला शंकर तामाङ र कान्छा प्रदीप तामाङले अन्तर्जातीय विवाह गरेका छन्। यही कारण देखाएर बुवाको अन्त्येष्टि र काजकिरियामा सहभागी हुन त्यहाँका समाजले रोक लगाएको हो।

बुवा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छा प्रदीप काठमाडौंबाट घर पुगेका थिए। तर बुवाको अन्त्येष्टिस्थलमा पुगेका उनीहरुलाई माटो चढाउन पनि रोक लगाइयो।

उक्त कामको नेतृत्व वडाध्यक्ष बलबहादुर तामाङ आफैंले गरेको आरोप छ। वडाअध्यक्ष तामाङले समुदायलाई उकासेर बुवाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुनासो छ।

'हामी दुई भाइले आफ्नो बुवाको लास छोयौँ भने सबै मलामी फर्किन्छौं भनेर रोकियो,' शंकरले भने। त्यति मात्र नभएर आमा रुँदै तिमीहरू फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि दुवैभाइ त्यही दिन काठमाडौं फर्किएका तामाङले बताए। 

जब दुई भाइ फर्किए जेठो यामबहादुर र साइँला तुलबहादुरले बुवाको अन्त्येष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन्। शुक्रबार घरमा बुवाको काजकिरिया भइरहेको छ। तर माइलो र कान्छो काठमाडौंमै छन्। अन्त्येष्टिका मुख्य लामाले क्रियापुत्रीको रुपमा सहभागी भए पनि हुनु भने, तर वडाअध्यक्ष बलबहादुर तामाङको नेतृत्वमा गाउँलेले नदिएको उनीहरुको आरोप छ।

'देशको कानुन र समाजको कानुन फरक हुने भन्दै आफूहरुलाई थर्काउँदै कानुनी रुपले जहाँ गए पनि जाऊ, अन्तिममा मिल्ने समाजमै हो भनेर वडाध्यक्ष तामाङले आफूहरुलाई बुवाको काजकिरिया गर्नबाट बञ्चित गराए,' उनीहरुको दुखेसो छ।​

शंकरले क्षत्री थरकी र कान्छा भाइ प्रदीपले दलित समुदायकी केटी विवाह गरेका छन्। ओखलढुंगामा यो जातीय कारण देखाएर विभेद गरिएको पहिलो घटना भने होइन।

सोही गाउँका राजु तामाङले दुई वर्ष अघि हजुरबुवा बित्दा आफूलाई अनर्जातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताए। वडाध्यक्ष बलबहादुर तामाङ भने यो आरोप सरासर झुटो भएको दाबी गर्छन्। उनीहरु दाजुभाइमै कुरा भएपछि आफैंले हामी छुँदैनौँ भनेर दुई भाइ हिँडेका यसमा आफ्नो कुनै भूमिका नभएको उनले बताए।

तर उनले मंगलबार संचारकर्मीसँगको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकोले त्यहीअनुसार उनीहरुलाई रोक लगाइएको जवाफ दिएका थिए।
दलित अधिकारकर्मी बलबहादुर परियार देशको कानुन एउटा र गाउँमा ठूलाठालुले चलाउने अर्को कानुन भएको बताउँछन्। जातीय विभेद गरेमा कडा कारवाही हुने कानुनी व्यवस्था भए पनि स्थानीय स्तरमा टाठाबाठाकै अगुवाइमा यस्ता घटना हुँदै आएका उनको भनाइ छ।

अघिल्लो वर्ष मात्रै वडाध्यक्षको हजुरआमाको मृत्यु हुँदा उनका काकाले नेवार थरकी केटी विवाह गरेको भए पनि काज किरियामा सहभागी गराइएको थियो। यस कारण जातीय विभेदको शिकार बनेका शंकर र प्रदीप यसमा राजनीतिक रंग गाँसिएको बताउँछन्। राजनीतिक रुपले समर्थन नगर्ने भएकोले वडाध्यक्षको भूमिका यस्तो हुन सक्ने अनुमान गरिएको छ।

मनोज भट्टराईले थाहा खबरमा समाचार लेख्नु भएको छ।  

 

Image: Repoters Nepal

Views: