d

१३ दिनदेखि सम्पर्क विहिन गिरिलाई तत्काल कार्यालयमा आउन चेतावनी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई तीनदिन भित्र कार्यालयमा हाजिर हुन धरानका विभिन्न नौ राजनीतिक दल र नागरिक दबाब संजाल चेतावनी दिएका छन्। प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनीतिक दल, नागरिक समाज र प्रतिष्ठानका चिकित्सक कर्मचारीले आन्दोलन थालेपछि १३ दिनदेखि प्रतिष्ठानका उपकुलपति गिरी सम्पर्कमा छैनन्।
 
पन्ध्र महिना अगाडि प्रतिष्ठानको उपकुलपति भएर आए यता डा. गिरीले कार्यसम्पादन राम्रोसंग नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दबाब समूहले छुट्टा छुट्टै आन्दोलन थालेका थिए। धरान नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर हप्तादिनको अल्टिमेटम दिए लगत्तै उपकुलपति गिरी काठमाडौं गएका थिए। 

नागरिक समाज र राजनीतिक दलका जायज माग सम्बोधन गर्न छाडेर गिरी सम्पर्कबिहीन भए पश्चात शुक्रबार नागरिक दबाब समूह र विभिन्न नौ राजनीतिक दलले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरी तीनदिन भित्र कार्यालयमा हाजिर हुन चेतावनी दिएका हुन्। 

गिरी कार्यालयको काम छाडेर सम्पर्कबिहीन भए पश्चात तीनदिन भित्र हाजिर हुन विभिन्न नौ राजनीतिक दलले विज्ञप्ति प्रकासित गरी उनलाई चेतावनी दिएको जनता समाजवादी पार्टीका धरान अध्यक्ष ताजुव लिम्बुले बताए। 

त्यस्तै धरान नागरिक दबाब संजालका अध्यक्ष डा. राजेन्द्र शर्मा र सचिव कमल तिगेंलाले पनि विज्ञप्ति प्रकासित गरी गिरीलाई तीनदिन भित्र कार्यालयमा हाजिर भएर धराने जनताको मागलाई सम्बोधन आग्रह गरेका छन्। 

एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, राप्रपा, र राप्रपा नेपाल समेत आन्दोलनमा उत्रिएका छन्। प्रतिष्ठानका सहायक प्रवक्ता डा. चूडामणि पोखरेलले उपकुलपति गिरी कार्यालयको काममा काठमाडौं गएको जानकारी दिएका छन्। अन्नपुर्ण पोस्ट। 

 

Image: onlinekhabar.com

Views: