d

कर्णाली प्रदेश:  ७९ मध्ये २४ स्थानीय तहले ल्याएनन् बजेट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीयतहहरु मध्ये ५५ वटा स्थानीय तहले मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन्। 

स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएता पनि २४ वटा स्थानीय तहहरुले अझैं नीति तथा कार्यक्रम र बजेट ल्याएका छैनन्।

जनप्रतिनिधिहरु बीचको विवाद, योजनामा छनौटमा सहमति जुट्न नसक्नु तथा कोरोना महामारीको प्रभावले जस्ता कारणले २४ वटा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकेको बुझिएको छ। 

बजेट नल्याउन पालिकाहरु

तोकिएको समयमा बजेट ल्याउन नसक्नेमा डोल्पाका छ पालिका छन्। ठूलोभेरी नगरपालिका, डोल्पोबुद्ध गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्।

ती मध्ये मुड्केचुला गाउँपालिकामा अध्यक्ष दत्तबहादुर शाही र उपाध्यक्ष सविताकुमारी रोकायाबीच चर्काे विवाद छ। त्यहाँ माओवादीबाट निर्वाचित अध्यक्ष शाही अल्पमतमा छन्। एमालेबाट निर्वाचित उपाध्यक्ष रोकायाको बहुमत छ।

कार्यकारी अधिकृत जीतबहादुर श्रेष्ठ र अन्य कर्मचारीबीच पनि राजनीतिक विवाद छ। कर्मचारीमा पनि कार्यकारीसहितको टोली एमालेको पक्षमा छ। अध्यक्ष शाहीले करारमा राखेका कर्मचारी मात्रै माओवादीको पक्षमा छन्। यहीकारण त्यहाँ नीति तथा कार्यक्रम र बजेट तयार हुन सकेको छैन।

तथा कार्यक्रम ल्याउने समय नजिकिदै गर्दा श्रेष्ठ जिल्ला बाहिर गएका थिए। डोल्पाकै अन्य स्थानीय तहमा पनि विवाद चर्किदै छ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र रास्कोट नगरपालिका, हुम्लाको सर्केगाड, चंखेली र नाम्खा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छैनन्।

त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी र हिमा गाउँपालिका, सल्यानको वनगाडकुपिन्डे नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिका, दैलेखका भैरवी, महावु, नौमुले र ठाँटीकाँधले पनि बजेट ल्याएका छैनन्। महावु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच विवाद छ।

नौमुले र ठाँटीकाँधमा एमालेभित्रकै जनप्रतिनिधिबीच विवाद छ। दुबै स्थानीय तहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका जनप्रतिनिधिहरुबीच विवादका कारण बजेट आउन नसकेको हो। भैरवी गाउँपालिकामा भने कोरोना महामारीका कारण बजेट आएको छैन। गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढासहित तीन जना वडाध्यक्षहरु कोरोना संक्रमित छन्। 

 थाहा खबरबाट साभार गरिएको। 

Views: