d

जनतामा निराशा छ, मैले कसरी जन्मोत्सव मनाउने? - पुर्वराजा ज्ञानेन्द्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली जनतालाइ दुखी र निराश भएको भन्दै पुर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको आफ्नो जन्मोत्सव नमनाउने घोषणा गर्नुभएको छ । नेपाली जनतालाई लिखित सम्बोधन गर्दै आगामी असार २३ गते पर्ने जन्मोत्सव नमनाउने बताउनु भएको हो । 

विश्वव्यापी रूपमा फैलिएको सरुवा रोगका कारण नेपाली जनतामा अस्तव्यस्तता छाएको, प्राकृतिक बिपत्तीले नेपाली जनतामा अकल्पनीय पिडा थपिएको अवस्थामा जन्मदिन मनाउन नसकिने बताउनु भएको हो।  

सम्बोधनमा उल्लेख गरिएको छ, 'परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ । आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।'

लिखित सम्बोधन जस्ताको त्यस्तै

नेपाली दिदी बहिनी तथा दाजुभाइहरू,
आजको विश्व एकतर्फ नयां ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढी रहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयां रोग व्याधि महामारीले सताई रहेको छ । यही क्रममा यसै वर्षको प्रारम्भिक चरणमा हामी पनि अस्वस्थ रह्यौं । सहयोगी स्वास्थ्यकर्मीहरुको कर्तव्यपूर्वक उपचार शुभेच्छुकहरूको
शुभकामना र याचनाकै कारण हाम्रो स्वास्थ्यमा सुधार आएको छ ।

राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन
संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ । आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसै गरि देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ - जनजीवन दु:खद् छ।

जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छौं । सबै नेपाली देशी विदेशी शुभचिन्तकहरुबाट प्रकट हुने सद्भाव तथा शुभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
जय नेपाल
२०७८ साल असार १६ गते

 

May be an image of text

Views: