d

बोनस शेयर डिम्याट खातामा आउन किन ढिलो हुन्छ ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सूचीकृत कम्पनीहरुले वितरण गर्ने बोनस डिम्याट खाता ढिलो आउने गरेको गुनासो बढ्न थालेको छ। कम्पनीहरुले बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा ढिला जम्मा गर्ने गर्दा प्राप्त बोनसको उचित समयमा उचित मूल्य पाउनबाट आफूहरु बञ्चित हुनुपरेको लगानीकर्ताहरुको गुनासो छ।

 बजार बढी रहेको समयमा बोनस शेयर ढिला प्राप्त हुँदा उक्त शेयरको दोस्रो बजारमा उपयुक्त मुल्य नपाउने हो की ? भन्ने लगानीकर्तामा डर बढेको पाइन्छ। लाभांश मध्येमा नगद लाभांश लगानीकर्ताहरुले सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि तत्कालै वितरण गर्न सकिन्छ। तर, बोनस शेयर वितरण गर्ने प्रकृया लामो भएको कारणले गर्दा बोनस शेयर डिम्याट खातामा जम्मा हुन केही ढिला हुने सरोकारवालाहरुको भनाइ छ।

सम्बन्धित कम्पनीको वार्षिक साधारणसभाले पारित गरेको लाभांश सबै शेयरधनीले प्राप्त गर्ने मर्चेन्ट बैंकर एशोसिएसनका अध्ययक्ष मेख बहादुर थापाले बताए। नगद लाभांशको तुलनामा बोनस शेयर वितरण गर्न केही ढिला हुने उनी बताउछन्। वितरण गरिएको बोनस शेयर अनुसार चुक्ता पूँजी वृद्धि हुने भएको कारणले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरेर मात्र शेयरधनीलाई वितरण गर्ने प्रावधान रहेकाले केही ढिला हुने गरेको थापाको भनाइ छ।

कम्पनी रजिष्ट्रार कार्यालयमा सूचीकृत कम्पनीको चुक्ता पूँजी वृद्धि भएको जानकारी नेपाल धितोपत्र, नेपाल स्टक एक्सचेञ्जमा गराएपछि मात्र बोनस शेयर कारोबारमा आउन सक्ने व्यवस्था छ। कम्पनीले वितरण गर्ने बोनस शेयर नेप्सेमा सूचीकृत भएपछि मात्र लगानीकर्ताले कारोबार गर्न पाउने छन्।

सूचीकृत कम्पनीको प्रत्यक्ष रुपमा नियमनकारी निकाय बीमा समिति, नेपाल राष्ट्र बैक लगायतका निकायबाट पारित हुने प्रकृयामा ढिलाई हुँदा पनि कम्पनीले वितरण गरेको लाभांश सम्बन्धित शेयरधनीले चाँडो नपाउने जानकारहरुको भनाई छ।

बोनस शेयर कै लागि शेयर खरिद गर्ने लगानीकर्ताहरुलाई बोनस शेयर समयमा खातामा नआउदा उक्त शेयरको उचित मूल्य नपाउने हो कि भन्ने डर हुन्छ।

नेप्सेमा सूचीकृत अपि पावर कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सालमा वितरण गरेको बोनस शेयर अझै सबै सम्बन्धित शेयरधनीको खातामा नआएको लगानीकर्ता रिसर्च श्रेष्ठले बताए। शेयरधनीको बोनस शेयर अझैसम्म पनि आफ्नो डिम्याट खातामा नआउदा उक्त शेयरको उचित मूल्य पाइदैन कि? भन्ने श्रेष्ठको मनमा डर छ।

कम्पनीले समयमा बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा नगर्दा हालै कम्पनीले बिक्री गरेको हकप्रद शेयर भर्नबाट पनि केही लगानीकर्ताहरु बञ्चित हुनु परेको उनको आरोप छ। हकप्रद निष्काशन गर्नको लागि गरिएको बुकक्लोज भन्दा पछि मुख्य शेयर बिक्री गर्ने लगानीकर्ताका खातामा अझैसम्म दुई वर्ष पहिले वितरण गर्न घोषणा गरेको शेयर नआउदा हकप्रद भर्न समेत केही लगानीकर्ताले मेसो नपाएको श्रेष्ठको भनाई छ।

लगानीकर्ताहरूले उक्त कम्पनीको शेयर आफूसँग छैन भनेर बस्दा कम्पनीको हकप्रद शेयर भर्ने अवसर छुटेको उनका बुझाई छ। दुई वर्ष पहिलेको बोनस शेयरधनीले नपाउँदा लाखौ कित्ता शेयर कारोबार नभई होल्ड भएको लगानीकर्ताहरुको आरोप छ।

कम्पनीले आफ्ना शेयरधनीलाई वितरण गर्न घोषणा गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरेको अपि पावर कम्पनीले बताएको छ। चरण बद्धरुपमा आफूहरुले बोनस शेयर पठाउदा केही समस्या भएको भए एक दुईदिन भित्रमा नै समाधान गर्ने कम्पनीको भनाइ छ। कहिलेकाही लगानीकर्ताको डिम्याट खातामा समस्या हुने भएको कारणले पनि शेयर पठाउदा केही समस्या हुने गरेको कम्पनीको भनाई रहेको छ। यदि बोनस शेयर वितरणमा केही समस्या भएको भए एक दुईदिनमा नै उक्त समस्याको समाधान गरी बोनस शेयर भुक्तानी गर्ने कम्पनीले प्रतिबद्धता दिएकोे छ ।

कम्पनीको वार्षिक प्रतिफल अनुसार लगानीकर्ताले लाभांश प्राप्त गर्छन्। शेयर बजारमा नगद भन्दा पनि बोनस शेयरलाई केन्द्रित गरेर लाभांश वितरण गर्ने गरिएको छ। लगानीकर्ता कम्पनीले लाभांशको रुपमा बोनस शेयर प्राप्त गर्दा खुशी हुने गरेको पाइन्छ। तर त्यही बोनस लगानीकर्ताले समयमा कारोबार गर्दा नपाउदा हातमा आएको नाफा छुट्ने गरेको छ। त्यसैले सूचीकृत कम्पनीहरुले आफूले वितरण गरेको बोनस छिटोभन्दा छिटो बजारमा कारोबार गर्न योग्य बनाउनु पर्ने देखिन्छ। 

सुधा देवकोटाले मेरो लगानीमा समाचार लेख्नु भएको छ।  

Views: