d

स्पष्टीकरण सोधिएका २२ सांसदलाइ किन कारवाही भएन ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठक मंगलबार सकिएको छ । बैठकले पार्टी विवाद मिलाउन कार्यदलले गरेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको छ ।
समितिको सोमबार बसेको बैठकले शेरबहादुर देउवाको पक्षमा मत दिने पार्टीका २२ सांसदसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो तर उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा कुनै निर्णय गरेको छैन ।
मंगलबारको बैठकमा विभिन्न प्रदेशको प्रतिनिधित्व गर्ने नेताहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेका थिए । बैठक बुधबार ३ बजे बस्ने गरी सकिएको छ ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण मंगलबार त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिए । नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिए ।
ज्ञवालीकाअनुसार सातै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा एमालेको सङ्गठनात्मक अवस्था तथा राजनीतिक सन्तुलनको बारे बैठकमा ब्रिफिङ गरेका थिए । पार्टीबाट केही समूह बाहिरिँदा के असर पर्छ, आसन्न निर्वाचनमा पार्टीको अवस्था कस्तो रहन्छ भन्ने ब्रिफिङका साथै अब कसरी अगाडि जाने सुझाव पनि प्रदेश अध्यक्षहरूले दिएको प्रवक्ता ज्ञवालीले बताए ।
यस्तै, बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका विभिन्न चरणहरूमा भएका प्रयासहरूको बारेमा बैठकलाई ब्रिफिङ गरेका थिए । पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ ।
नेपाल पक्षको बैठक बुधबार
नेकपा एमालेको असन्तुष्ट समूहको बैठक बुधबार बस्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको उक्त समूहका सांसद र केन्द्रीय सदस्यहरुको बैठक बस्ने तय भएको हो ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएपछि विकसित घटनाक्रमलाई लिएर नेपाल पक्षले सांसद र केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको हो । उक्त बैठकमा देउवालाई विश्वासको मत दिएका ओली पक्षीय ८ सांसदलाई पनि बोलाइएको छ ।
देउवालाई ओली पक्षीय ८, माधव पक्षीय १४ जनाले विश्वासको मत दिएका थिए । त्यस्तै माधव पक्षीय १० जना सांसदहरुले मतदानमा भाग लिएका थिएनन् । एमाले केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी रहेका बेला नेपाल पक्षले पनि सांसद र केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।
बैठकले विश्वासको मत दिएपछि देउवा सरकारमा जाने नजाने पनि निर्णय लिने भएको छ । बैठकले एमालेबाट छुट्टिने या पार्टीमै बसेर संघर्ष गरिरहने कुराको पनि निर्णय लिनेछ ।  द नेपाल टप। 

Views: