d

एमाले भित्रको कलह संसदीय समितिमा पनि छताछुल्ल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ:  एमाले भित्रको कलह संसदीय समितिमा समेत देखिन थालेको छ ।

आइतबार संसदीय समितिको बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओली समूहका सांसदबीच चर्को भनाभन नै भएको छ।  

ओली निकट भनी चिनिएका सांसद नारदमुनी राना र माधव नेपालबीच नै केहीबेर भनाभन भएको थियो । यो विवादमा नेपाल समूहका सांसद दीपक भट्ट समेत मिसिएका थिए ।

सुरुमा सांसद रानाले निवर्तमान प्रधानमन्त्री ओलीको बचाउ गर्दै नेता नेपालमाथि व्यंग्य गरेपछि विवाद चर्किएको हो । सांसद रानाले संसद विघटन राजनीतिक निर्णय भएको भन्दै बचाउ समेत गरेका थिए ।

तर नेपाल समूहका सांसद भट्टले प्रतिगमनको मतियार भनेको भन्दै रानालाई राजीनामा दिएर निस्कन भने । सँगै नेता नेपाल समेत आक्रोशित बन्दै रानाको अभिव्यक्तिको कडा आलोचना गरे ।

केही बेरसम्म नेता नेपालसँगै सांसद राना र भट्टबीच चर्को भनाभन भएको थियो । साथै अन्य सांसदहरुले भने पार्टीको विवाद समितिमा नल्याउन भन्दै सुझाव दिएपछि केही बेरमा विवाद साम्य भएको थियो ।

संसदीय समितिको बैठकमै पार्टीभित्रको विवादलाई लिएर यसरी बाझाबाझ भएको सम्भवत यो पहिलो घटना थियो । एकै पार्टीका सांसदहरुबीच भनाभन भएको एउटा भिडियो सामाजिक सञ्जालमा समेत व्यापक रुपमा फैलिएको छ । नयाँ सरकार गठनसँगै एमालेका सांसदहरु पछिल्लो समय दुई समूहमा विभाजित हुँदैआएका छन् ।

Views: