d

उपेन्द्र यादव पक्षको जसपाले पायो आधिकारिकता, ठाकुरपक्षले अर्को दल दर्ता गर्नु पर्ने  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमान्डौ:  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। सोमबार निर्वाचन आयोगको इजलासले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराउँदा यादव पक्षमा बहुमत देखिएकाले उनैलाई आधिकारिकता दिएको हो।

जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन्। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका छन्। 
 
जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा सोमबार बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेपछि कार्यकारिणी सदस्यको सनाखत भएको थियो। आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भए रित पुर्‍याएर निवेदनसहित आउनुपर्ने छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा रहेको इजलास गठन भएको थियो। अन्नपुर्ण पोस्ट। 

Views: