d

'म राजतन्त्रवादी होइन, गणतन्त्रवादी पनि होइन' - मिश्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने धारणा सार्वजनिक गरेपछि विवादमा तानिएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफू राजतन्त्रवादी नभएको जिकिर गरेका छन्।

उनले ‘यक्ष प्रश्न’ टेलिभिजन कार्यक्रममा आफू राजतन्त्रवादी पनि नभएको र गणतन्त्रवादी पनि नभएको तर्क गरेका हुन्। ‘म राजतन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन,’ उनले भनेका छन्, ‘म यो देशको समृद्धिवादी हुँ, म यो देशको प्रगतिवादी हुँ।’ उनले आफूले पार्टीको केन्द्रीय समितिलाई जानकारी गराएरै धारणा सार्वजनिक गरेको दाबी पनि गरेका छन्।

‘मैले पार्टीको केन्द्रीय समितिमा मेरो यो विषय, मेरा धारणा राख्छु भनेर जानकारी गराइसकेको थिएँ। म यो विषयमा कसैलाई पनि आरोप लगाउन चाहन्नँ,’ मिश्रले भनेका छन्, तर अहिले हाम्रो पार्टीको अवस्था के हो भने हाम्रो दुइटा पार्टी एकीकरण भको हुनाले म (अध्यक्ष) पनि छु, संयोजक पनि हुनुहुन्छ। र, पार्टीको केन्द्रीय समितिमा कुनै पनि एजेन्डा लैजानका लागि हामी दुई जना सहमत भएर लैजानुपर्छ।… उहाँ (संयोजक) को धारणा फरक रहेछ भन्ने त प्रस्ट भयो। त्यो फरक धारणालाई सम्मान गर्छु।’

केन्द्रीय समितिमा यो एजेन्डा (संघीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत संग्रह) लाने कि नलाने भन्ने विषयमा छलफल गर्दा फरक मत रहेपछि आफूले आफ्ना धारण ईमेलमार्फत सबै केन्द्रीय सदस्यलाई पठाएको मिश्रले बताएका छन्।

‘सबै जानकारी गराएँ, स्वाभाविक रूपमा १३० जना केन्द्रीय सदस्य रहेको पार्टीमा त्यो कुनै न कुनै रूपमा बाहिर त जान्थ्यो, मेरो धारणा,’ मिश्रले भनेका छन्, ‘अब अन्ततिरबाट बांगिएर टेढिएर विभिन्न किसिमले जानुभन्दा मैले व्यवस्थित रूपमा सार्वजनिक गर्छु। त्यो पनि जानकारी दिएरै सार्वजनिक गर्छु। र, यो पार्टीभित्र मात्र होइन, पार्टी बाहिर पनि यसको बहस होस् भनेर मैले पहिलाबाट केन्द्रीय समितिलाई जानकारी दिएर अनि सार्वजनिक गरेको हुँ।’ 

Views: