d

किन चल्दैनन् गौरादह बजारका सी सी क्यामेरा ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सान नेपाल 

 

 झापा: लाखौँ खर्च गरेर जडान गरिएका गौरादह नगरपालिका स्थित बजारक्षेत्रका  अधिकांश सी. सी.  क्यामरा चल्न छोडेका छन्।  सुरक्षा सम्बेदनशिलतालाई मध्यनजर गर्ने भन्दै मोटो रकम खर्च गरेर जडान गरिएका सी. सी. क्यामेरा गत असार शुरु देखिनै चल्न छोडेको पाइएको हो ।  

 

प्रदेश सरकार र स्थानिय बजेटको मोटो रकम खर्च गरेर निर्माण गरिएको  बजारलाई आधुनिक बनाइएता पनि सी. सी. क्यामेरामा भरपर्दो मर्मत र हेरविचार नपुग्दा समग्र सुरक्षा प्रणालीमै गैर जिम्मेवारीपन  देखिएको छ।  

 

गौरादहको आधुनिक बजारमा  सी. सी. क्यामेराले काम नगर्दा सुरक्षा सम्बेदनशिलता प्रति चरम लापरबाही भएको स्थानीयको आरोप छ।  

 

सातामा २ पटक बजार लाग्ने गौरादह बजारमा निषेधाज्ञा खुकुलो हुने बित्तिकै बजार क्षेत्रमा भिडभाड बढ्न थालेको छ भने भिडभाडका कारण बजार भर्न आउनेहरुको सामान हराउने जोखिम समेत उत्तिकै बढेको छ।  आपराधिक गतिविधी रोक्ने कार्यमा अहम भूमिका खेल्ने २४ घण्टाका सुचनाहरु उपलब्ध गराउने सी. सी. क्यमेरा जस्तो अतिनै संबेदनशील सेवा पछिल्लो डेड महिना देखि ठप्प देखिएको छ।  

 

बजार क्षेत्रमा सामान हराउनु वा चोरी भएका घटनाहरु बाहिरिनु नौलो हुँदै होइन।  

 

बजारमा आफ्नो साइकल राखेर सामान किन्न पसल छिरेका स्थानिय एक युवा व्यसायी साइकल हराएको उजुरी लिएर प्रहरी कार्यालयमा पुगे।   तर विडम्बना नै भन्नु पर्छ सी सी क्यामेरा बिग्रेका कारण साइकल कसले चोरी गर्यो प्रहरीले पत्ता लगाउन सकेन।  

 

 'हराएकोमा मलाई त्यती चिन्ता होइन तर लाखौँ खर्च गरेर जडान गरिएका सी. सी.क्यामेरा नचल्नुलाई भने त्यती सहज मान्न मिल्दैन।' ति व्यवसायीले पर्दाफास प्रतिनिधि संग कुरा गर्दै चिन्ता व्यक्त गरेका थिए।  

 

सी. सी. क्यामेराको अगाडी राखिएको साइकल नभेटिएको उक्त घटना प्रतिनिधि घटना मात्र हो।  यस क्षेत्रमा दृश्य र अदृश्यमा कयौं आपराधिक गतिविधि हुने गरेको स्थानियको गुनासो रहदै आएको छ।  

 

'क्यामेरालाई जतन गर्न र बेला बेला मर्मत गर्न सकिदैन भने महँगो रकम खर्चेर  क्यामेरा किन जडान गरियो ?', आक्रोश व्यक्त गर्दै स्थानिय व्यवसायीहरु सुनाउछन्।  

 

कानुनत: सार्वजनिक सम्पत्तिको हिफाजत गर्ने अख्तियारी प्राप्त निकाय भनेको नगरपालिका नै हो।  जनप्रतिनिधिले नगर सम्हाल्ने बित्तिक्कै लाखौं खर्च गरेर जडान गरिएका सोलार बत्तीहरु अहिले कहाँ र कुन अवस्थामा छन् कसैलाई जानकारी रहेको पाइदैन।  सोलार बत्ती असफल भयो भन्दै नगर झलमल्ल पार्ने महत्वाकांक्षी योजना सहित २८ लाख खर्च गरेर जडान गरिएका सडक बत्तीहरु ४/५ महिना नबित्तै बल्न छाडी सकेका छन्।  सार्वजनिक सम्पत्तीको हिफाजत हुन नसक्दा जनताको ढाड सक्ने गरी असुली गरेको करबाट संकलित  राज्यकोषको करोडौं रकममा ब्रम्हलुट बढेको छ भने उदासिन नगर प्रशासनको अदुरदर्शीनीति कार्यशैलीका कारण सार्वजनिक सम्पत्तीको संरक्षणमा समेत चुनौती थपिदै गएको सरोकारवालाको निस्कर्ष छ।  

Views: