d

कांग्रेस क्रियाशील सदस्यता विवाद किनारा लाग्यो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । सोमबार राति क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी रहेका समस्या समाधान गरेको छ । योसँगै कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगो लागेको हो ।


क्रियाशील छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र समायोजनका बिषयमा शिर्ष नेताबीच सहमति नहुँदा नेतृत्व तहमा पठाएको थियो । छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो ।


सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउने समय दिएको भएपनि समितिले सहमतिको बाटो तय गर्न सकेको थिएन ।


विवाद समाधान भएसँगै नेताहरुले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई सोमबार राति नै प्रतिवेदन बुझाएका छन् । छानविन समितिका सदस्य डा. मिनेन्द्र रिजालले भने, ‘केही मापदण्डका आधार तय गरेका छौँ । मापदण्डअनुसार अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाले पनि क्रियाशील सदस्यता पाउने गरी विवाद अन्त्य भएको छ ।’

 


नामावली सार्वजनिक हुने


यसैबीच जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन नै गर्ने भएपछि कांग्रेसले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्ने भएको छ । सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको हो ।
पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सम्पूर्ण सूची सोमबारभित्रै सार्वजनिक गर्न अल्टिमेटम दिएका थिए । सोमबारै सदस्यको नामावली सार्वजनिक नभएपछि मंगलबारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी थियो ।
तर, संस्थापन पक्षले भने सदस्यको नामावली सार्वजनिक गर्ने विषयमा धर्ना र आन्दोलन नै हुने भएपछि सदस्यताको विवाद समाधान भएलगत्तै सदस्यको विवरण वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएको हो । कांग्रेसले यसअघि छानबिनका क्रममासमेत सदस्यहरुको नामावली सार्वजनिक गरेको थियो ।


यसपटक देशैभरिबाट क्रियाशील सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री गर्ने व्यवस्था गरिएकाले अन्तिम नामावलीसमेत डिजिटल कपीमै तयार हुनेछ । त्यसैले त्यो सार्वजनिक गर्न समेत सहज हुने छ ।


नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले नेतृत्वले क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्न आनाकानी गरेको भन्दै मंगलबारदेखि धर्ना दिने कार्यक्रम राखिएको बताएका थिए । जिल्ला सभापतिहरुले सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नलगायत माग राखेर धर्ना दिने जनाएका थिए ।

Views: