d

२ जेठमा फर्कियो एमाले, आगामी मङ्सिरमा दशौँ राष्ट्रिय महाधिवेशन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

८ भदौ, काठमाडौं । नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ ।

 

सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनस्र्थापित एमालेको स्थायी कमिटीको मंगलबारको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ दलमा नगएका स्थायी कमिटीका १० नेता सहभागी भएका थिए । उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त, अमृतकुमार बोहोरा (अनुशासन आयोगका प्रमुख) झण्डै ६ महिनापछि पार्टीको स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।


स्थायी कमिटी बैठकले २७ असारमा भएको १० बुँदे सहमतिअनुसार पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील बनाउने निर्णय गरेको छ ।

 

त्यसअनुसार पार्टीको पक्षमा क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई २०७५ जेठ २ पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको सचिव प्रदीपकुमार ज्ञवालीले बताए ।

 

बैठकले दल विभाजन प्रक्रिया रोकेर पार्टी एकतामा आउन नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ । यद्यपि पार्टी विभाजनकै लागि कतिपय नेताले कसम नै खाएको सचिव ज्ञवालीको टिप्पणी छ ।

 

‘जो एकता चाहनुहुन्थ्यो, उहाँहरुका लागि १० बुँदे पर्याप्त भयो । उहाँहरु एकतामा आउनुभयो,’ उनी भन्छन्, जसले पार्टी विभाजनका लागि कसम नै खानु भएको थियो, उहाँहरुका लागि कुनै कुराले फर्काउन सकेन ।’

 

माधवकुमार नेपालतर्फ संकेत गर्दै उनले विभाजनका लागि दृढसंकल्पित रहेको र निश्चित उद्देश्यका लागि समर्पित गरेको बताए । अर्को अध्यक्ष बनाउन तयार हुँदा पनि सहमतिमा नआएको भन्दै ज्ञवाली भन्छन्, ‘उहाँलाई कुनै न कुनै हिसाबले एउटा समूहको अध्यक्ष बन्नु थियो र, शेरबहादुर देउवाको सरकारमा आफ्ना केही साथीहरुलाई समावेश गराउनुभयो । त्यसमार्फत अरु के–के गर्नु थियो, त्यो समयक्रमले बताउला ।’ अनलाइन खबर 

Views: