d

ओलीविरुद्धको विद्रोहले नयाँ क्रान्तिकारी पार्टी जन्माउछ - झलनाथ खनाल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी नेपालका वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको विद्रोहले नेपालमा नयाँ क्रान्तिकारी पार्टी जन्माउने बताएका छन् ।

दिल्लीस्थित एपोलो अस्पतालको बेडबाटै चन्द्रागिरिमा जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार अडियो सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अब क्रान्तिकारी शैलीमा अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

बुधबार निर्वाचन आयोगमा नयाँ पार्टीका लागि गरिने सनाखतमा दूतावासमार्फत वारेसनामा पठाएका खनालले नयाँ निर्माणका लागि विद्रोह स्वभाविक भएको उल्लेख गरे ।


अध्यक्ष ओलीको अवसरवादी नेतृत्वका कारण दुई दल मिलेर बनाइएको नेकपाको एकता पनि भताभुंग भएको उनले बताए । दुईतिहाइ नजिकको सरकार पनि नरहेको उनले बताए ।

साढे तीन वर्ष शासन चलाउने क्रममा ओलीले मनपरी गरेको आरोप लगाए । ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट पनि ओलीले पार्टीलाई थाहै नदिइ ल्याएको बताए ।

पार्टीले सरकारमार्फत देशलाई समाजवादतिर लैजानु भन्दा ओलीले दलाल पुँजीवादको यात्रा अघि बढाएको भन्दै खनालले आक्रोश पोखे । ‘ओलीविरुद्धको यो विद्रोह नयाँ निर्माणका लागि हो, नयाँ क्रान्तिका लागि हो’, उनले भने, ‘ओलीविरुद्धको विद्रोहले नयाँ पार्टी बन्छ । तपाईं हामी ओलीविरुद्ध विद्रोहको बिन्दुमा आइपुगेका छौँ । केशरजंगविरुद्ध पनि विद्रोह भएको थियो ।’

एमालेमा अहिले एउटा समूह मध्यन्थका रुपमा रहेको उनले बताए । ‘मध्यपन्थ पनि अवसरवादकै एउटा रुप हो। त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ’, एमालेका दोस्रो पुस्तालाई लक्षित गर्दै उनले भने, ‘मध्यपन्थको आयु कहिले लामो हुँदैन । चाँडै नै त्यसले आफ्नो परिणाम देखाउँछ । हाम्रो केन्द्रमा जन्मिएको मध्यपन्थ अब अन्त्य भएको छ ।’

उनले दक्षिणपन्थी र अवसरवादमाथि गहिरो हमला चाहिएको पनि बताए । ‘दक्षिणपन्थी अवसरवादमाथि जति गहिरो हमला गर्छौँ, त्यति नै हामी बलियो हुन्छौँ’, उनले भने, ‘राजनीतिक एकताले मात्रै पार्टी एक हुँदैन । वैचारिक र सैद्धान्तिक एकता पनि चाहिन्छ ।’
उनले अब नयाँ क्रान्तिका लागि पार्टी दर्ता गरिहाल्न आग्रह गरे । ‘सबैभन्दा पहिले हामी पार्टी दर्ता गरौँ । पार्टी दर्ता गरेपछि नीति सिद्धान्त अपडेट हुनुपर्छ’, खनालले थपे, ‘अब हाम्रोमा जनवादी क्रान्ति सकियो । जनताको बहुदलीय जनवाद पनि सिद्धियो, अब हामी समाजवादको यात्रामा अघि बढ्नुपर्छ ।’


उनले अब नयाँ पार्टीलाई सामूहिक रुपमा चलाउनुपर्नेमा जोड दिए । ‘हामीले पहिले भन्दा एकतावद्ध भएर एक ढिक्का भएर सामूहिक निर्णयका आधारमा अगाडि बढ्नुपर्छ’, उनले भने, ‘हजारौँ लाखौँ साथीहरुलाई पार्टीमा ल्याउन सक्नुपर्छ। हाम्रा सामु ठूलो चुनौती छ । हाम्रो सफलता सुनिश्चित छ तर बाटो सजिलो छैन कठीनाइ छ काँडा छन् भीरपाखा छन् ।’

खनालले आफूहरु तिनै भीरपाखमा जन्मेकाले त्यसले केही फरक नपार्ने पनि बताए । उनले दोस्रो पुस्ताका नेताहरु कुन ठाउँमा पुगेका छन् विश्लेषण गर्नुपर्ने पनि बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि दिल्ली गएका उनी आगामी सोमबार काठमाडौं आइपुग्ने जानकारी पनि सम्बोधनका क्रममा दिए । द नेपाल टप। 

Views: