d

गुल्मीमा भासियो मदन भण्डारी राजमार्ग, सडक छेउका घर जोखिममा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गुल्मी : मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी सडकखण्डको सेउघामा सडक भासिएको छ।

रेसुंगा नगरपालिका–४ सेउघामा सडक भासिँदा सवारीसाधन आवतजावत गर्न जोखिम भएको तम्घास–सिमलटारीका यात्रुले बताएका छन्। एकतर्फी मात्र सवारी चलाए पनि सडक आसपास धेरै चर्किएकाले पहिरो जाने जोखिम बढेको स्थानीयले बताएका छन्।

तस्बिर: थाहाखबर 

भासिएको सडकनजिकै रहेका नेत्र कुँवर र नर्मदा कुँवरको घर पहिरोको जोखिममा परेको वडाध्यक्ष विजय मरासिनीले जानकारी दिए। गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मदन भण्डारी राजमार्गको कार्यालयलाई स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे तत्काल जानकारी गराउन निर्देशन दिएको बताइन्।

निरन्तर वर्षा भइरहेकाले सडकको विकल्पबारे पनि सोच्न आग्रह गरिएको शर्माले बताइन्। यता मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी विवश बास्तोलाले वर्षा नरोकिउन्जेल कुनै पनि विकल्प तयार पार्न नसकिने बताए। उनले वर्षा रोकिए  तलबाट ग्याबिन वाल लगाउने र बायो इन्जिनियरिङ गर्ने बताए।

सडक भासिन नदिन सडक छेउमा वृक्षारोपण गर्नु नै उपयुक्त हुने भएकाले सडक विस्तार गर्दा वृक्षारोपणलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए। कार्यालय प्रमुख शशांक मिश्राले सडक अनुगमनपश्चात मात्र विकल्प खोज्न सकिने बताए। आफू सडकको स्थलगत निरीक्षणमा जाने र त्यसपश्चात के गर्न सकिन्छ भन्न सक्ने बताए। थाहाखबर।  

Views: