d

पशुपंक्षीको जुठो खाँदा सर्छ प्राणघातक निपा भाइरस 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं । सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक रहेको उल्लेख गर्दै त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् ।
प्रवक्ता डा.पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्र्याइँ गर्नु नहुने बताए ।
उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताए ।
प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट)बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए ।
निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पु¥याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गरे ।
प्रवक्ता पौडेलले भने, ‘हालसम्म नेपालमा पुष्टि भइसकेको छैन । यो अलिकति प्राणघातक छ, यसको मृत्युदर उच्च छ, तर यो यत्तिकै आउँदैन, यो संक्रमित पशुपंक्षीबाट मानवमा आउने हुनाले पशुपंक्षीले जुठो पारेका खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि हामी नखाऔँ, फलफूल तरकारीहरु राम्रोसँग सफा गरेर खाऔँ। तरकारीको हकमा राम्ररी पकाएर खाऔँ। फलफूलको हकमा बोक्रा फालेर खाऔँ, राम्ररी धोएर खाऔँ, त्यसबाट बच्न सकिन्छ। जो मासुजन्य काममा हुनुहुन्छ, बंगुरहरु बिरामी हुनसक्छन्, गाईवस्तुहरु,मासुको काम गर्ने साथीहरुले पञ्जा लगाऔँ, मास्क लगाऔँ।
आफूलाई व्यक्तिगत सुरक्षाका कवचहरु लगाएर मात्र ह्याण्डिल गरौँ, मासुहरु राम्ररी पकाएर मात्र खाऔँ, भीडभाडमा नजाऔँ, किनभे व्यक्तिबाट व्यक्तिमा, मानव मानवमा पनि सर्न सक्छ, यसको मृत्युदर उच्च छ। यसले छिटै मस्तिष्कमा असर गरेर इन्सेफ्लाइटिभ, कोमा, डाउजी, बेहोस गराउन सक्छ, ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएको छ भने अस्पतालमा जाऔँ सही सूचना दिऔँ, आतंकित नबनौँ, मापदण्ड नभुलौँ।’
स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत र सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेको छ ।

Views: