d

रेल ल्याइयो, गुडाउन सकिएन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, असोज २ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुईवटा रेल आएको एक वर्ष पूरा भएको छ ।


गतवर्ष असोज २ गते जनकपुर आइपुगेको रेललाई ठूलो तामझामका साथ स्वागत गर्नुका साथै अब छिट्टै नै नेपालको आफ्नै ध्वजावाहक रेलमा यात्रा गर्न पाइन्छ भन्ने आमनागरिकमा ठूलो आशा पलाएको थियो तर रेल आएको ठीक एक वर्ष पुग्दा पनि त्यो रेल चल्ने छाँटकाँट देखिएको छैन । इनरुवा स्टेसनमा दुईवटा रेल एक वर्षदेखि पार्किङ गरिराखिएको छ ।

सञ्चालनमा नआउँदै दुईवटै रेलको ‘वारेन्टी’ अवधिसमेत समाप्त भइसकेको छ । दुईवटै रेलमा निर्माण कम्पनीले एक वर्षको ‘वारेन्टी’ दिएको थियो । त्यसैगरी रेल छोपिएको त्रिपाल चिराचिरा भइसकेका छन् । एक वर्षदेखि घाम पानी सहँदै आएको रेल जीर्ण बन्दै गएका छन् ।

रेल विभागका महानिर्देशक दीपक भट्टराईले प्राविधिक र कानुनी काम पूरा गर्न बाँकी रहेका कारण जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन नसकेको बताए । उनले रेलसम्बन्धी कानुन संसद्बाट पारित हुन नसक्दा रेल सञ्चालनमा झन् ढिलाइ भएको स्पष्ट पारे ।

उनले भने, “अध्यादेशमार्फत आएको रेलसम्बन्धी विधेयक संसद् बसेको मितिले साठी दिनभित्र संसद्बाट पारित गर्नुपर्ने हो तर सो हुन सकेन । भदौ ३० गतेसम्म अन्तिम म्याद रहेको थियो । निर्धारित समयभित्र संसद्बाट पारित हुन नसकेपछि रेलसम्बन्धी विधेयक निष्क्रिय भइसकेको छ । सरकारले पुनः रेलसम्बन्धी नयाँ विधेयक ल्याउनुपर्ने हुन्छ ।’’ गोरखापत्र दैनिकबाट

 

file image

Views: