d

शनिबारबाट खसिबोका बिक्री गर्ने खाद्य कम्पनीको तयारी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालय काठमाडौँले शनिवारदेखि दसैँका लागि खसिबोका बिक्री गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैँका लागि २ हजारको हाराहारीमा खसिबोका बिक्री गर्ने लक्ष्य लिएको छ ।
यस पटक कम्पनीले च्याङ्ग्रा भने बिक्री नगर्ने बताएको छ । खास गरी उत्पादन नै कम भएका कारण च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् ।


गत वर्षको दसैँमा पनि खासै च्याङ्ग्रा बिक्री नगरिएको उनले बताइन् । नेपालमा उत्पादन नै कम भएका बेला बजारमा ल्याउँदा महँगो हुने भएकाले च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । यसअघि चीनबाट भित्रिने भएका कारण च्याङ्ग्रा प्रशस्त हुने गरेको उनको भनाइ छ ।


‘यसअघिका वर्षमा चीनबाट पनि भित्रिने हुँदा च्याङ्ग्रा उत्पादन बढी हुने रहेछ, अहिले महामारीका कारण भित्रिन पाएन र स्थानीय उत्पादन पनि थोरै भएका कारण हामीले खसिबोका नै बिक्री गर्ने निर्णय गरेका हौँ,’ सूचना अधिकारी सुवेदीले भनिन् । कोरोना भाइरसको महामारीका कारण चीनसँगको सीमा खुकुलो नहुँदा च्याङ्ग्रा भित्रिन नसकेको कम्पनीले जनाएको छ ।


यस वर्ष मकवानपुर र तुलसीपुरबाट २ हजार खसिबोका ल्याउने तयारी रहेको सूचना अधिकारी सुवेदीले बताइन् । जसमध्ये सम्भवतः शुक्रबार ५ सय खसिबोका काठमाडौँ आइपुग्दै छ । कम्पनीले अहिले खसिबोकाको मूल्य तोकिसकेको छैन ।

Views: