d

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुभएको छ । नेपाली सेनाद्वारा आज मङ्गलवार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भइ राष्ट्रपति भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । 

समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवम् एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्यान्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो । 

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण गएकाे वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिँदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी हुनुभयो ।

मन्त्री गण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव समारोहमा उपस्थित हुनुहुन्थ्यो । 

यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा भने अस्वस्थताका कारण फूलपाती बढाइँमा उपस्थित हुनुभएन ।  

बढाइँ समारोहमा आएका विशिष्ट पाहुनालाई बलाध्यक्ष रथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गर्नुभयो ।  

image: DC nepal

Views: