d

अमेरिकी कूटनीतिज्ञले भने– चीनलाई रोक्न एसियामा सेना राख्नुपर्छ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


अमेरिकाका उच्च कूटनीतिज्ञ, चीनका लागि राजदूतका रूपमा प्रस्तावित निकोलस बर्न्सले छिमेकीहरू तथा एसिया प्रशान्त मुलुकहरूप्रति चीन आक्रामक रहेको र ती मुलुकहरूमा चीनबाट सुरक्षा खतरा रहेको आरोप लगाएका छन् । उनले जापान, कोरियासहित एसियामा अमेरिकी सैन्य उपस्थिति कायम राख्नुपर्ने पनि सुझाब दिएका छन्। चीनको आक्रामक रणनीतिलाई रोक्न पनि सैन्य उपस्थिति अनिवार्य भएको उनको सुझाब थियो। चीनमा करिब एक वर्षदेखि अमेरिकी राजदूत छैनन्। 

अमेरिकी संसद्को अन्तर्राष्ट्रिय मामिला समितिद्वारा आयोजित सुनुवाइमा बर्न्सले भियतनाम, फिलिपिन्स, साउथ चाइना सी, जापान, अस्ट्रेलियाविरुद्ध चीन आक्रामक हुँदै गएको आरोप लगाएका हुन्। करिअर कूटनीतिज्ञ बर्न्स अमेरिका र भारतबीच भएको आणविक वार्तामा अमेरिकी सदस्यसमेत थिए। उनले भनेका छन्, ‘अमेरिकी मान्यता र हितलाई धम्की दिने, अमेरिकी साझेदार तथा गठबन्धन सदस्यहरूविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने कार्य बन्द गर्न, चीन सरकारलाई नियममा आधारित भएर जबाफदेही बनाउन, नियममा आधारित अन्तर्राष्ट्रिय मूल्यप्रति जवाफदेही बनाउन वासिंटनले भूमिका निर्वाह गर्नुपर्छ।’ उनले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी उपस्थिति रणनीतिक रूपमा थप मजबुत बनाउनुपर्ने पनि सुझाब दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनले अमेरिकी साझेदार तथा गठबन्धनहरूमार्फत चीनको उदयलाई रोक्ने प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

चीनको असाधारण शक्ति भए पनि ऊ विश्वको ओलम्पियन शक्ति नभएको कूटनीतिज्ञ बर्न्सको जिकिर थियो। ‘हामीले चीनको शक्तिलाई बढी बुझ्नुभएन र अमेरिकाको शक्तिको नजरअन्दाज गर्नु पनि हुँदैन,’ उनले भनेका छन् । उनले ताइवानलाई अमेरिकाले थप सुरक्षा सहयोग गर्नुपर्ने र रणनीतिक साझेदारी बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।  नयाँ पत्रिका।

 

 

तस्बिर नयाँ पत्रिका

Views: