d

कांग्रेस महाधिवेशनको मिति सर्यो: २७–२९ मंसिरमा काठमान्डौमा हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म सम्पन्न गर्नेगरी नयाँ मिति तय गरेको छ । यसअघि ९ देखि १३ मंसिरका लागि कांग्रेसले महाधिवेशनको मिति तोकेको थियो ।

file image

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पार्टीको १४औं महाधिवेशनका लागि तोकिएको मितिलाई संशोधन गर्दै नयाँ मिति तय गरेको हो ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ कार्यतालिका मंसिर नकट्नेगरी बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए । सोहीअनुसार समितिले कार्यतालिका संशोधन गरेको हो ।

१३ जिल्लामा वडा अधिवेशन २७ कात्तिकमा

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले केन्द्रीय महाधिवेश २७ देखि २९ मंसिरमा गर्नेगरी कार्यतालिका तयार गरिएको र अन्य अधिवेशनका लागिसमेत नयाँ मिति तोकिएको जानकारी दिए । उनका अनुसार बिहीबार बस्ने पार्टीको बैठकमा सो कार्यतालिका पेस गरिनेछ ।

यादवका अनुसार संसोधित नयाँ कार्यतालिकामा वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा २७ कात्तिकबाट अधिवेशन गर्न मिति प्रस्ताव गरिएको छ ।

यसैगरी, ३० कात्तिकमा १३ जिल्लामा पालिका अधिवेशन गर्नेगरी नयाँ मिति तय गरिएको छ भने ३ मंसिरमा प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन, ६ मंसिरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन, १० मंसिरमा जिल्ला अधिवेशन हुन बाँकी सबै जिल्लामा जिल्ला अधिवेशन तय गरिएको छ ।

यस्तै, १६ र १७ मंसिरमा सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्नेगरी मिति प्रस्ताव गरिएको छ भने २९ देखि २९ मंसिरसम्म केन्द्रीय महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ ।

निर्वाचन समितिका संयोजक यादवले कुनै जिल्लामा पहिले निर्धारित भएर पनि .अधिवेशन बाँकी रहेका अवस्थामासमेत नयाँ मिति अनुसार सबै तहका अधिवेशन हुने जानकारी दिए ।

‘अधिवेशन हुन बाँकी सबै जिल्लामा सबै तहका अधिवेशन नयाँ मितिमा हुनेछ, यो मिति बिहीबार पदाधिकारीसमक्ष पेस गर्छांै,’ यादवले राजधानीसँग भने ।

प्रदेश २ का आठ जिल्ला सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरीसहित सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा कांग्रेसले अझै वडा अधिवेशन गर्न सकेको छैन । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ । हालसम्म ६४ जिल्लामा मात्रै वडा अधिवेशन सकिएको छ ।

कांग्रेसले गत ३० साउनमा ल्याएको कार्यतालिका अनुसार ९ देखि १३ मंसिरसम्म १४औं महाधिवेशन तोकेको थियो । पछिल्लो पटक निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ–नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म प्रस्तावित थियो ।

कांग्रेसले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ । दसैंअघि नै २१ हिमाली जिल्लामा जिल्ला अधिवेशन सक्ने भनेपनि १३ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । कार्यतालिकालाई नघाएर भए पनि ति जिल्लामा कांग्रेसले अधिवेशन सुरु गरेको थियो ।
राजधानीमा खबर छ।  

Views: