d

घट्यो विद्युत महसुल दर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो।

नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत् महसुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए। उनले विपन्न नागरिकहरूलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको जानकारी दिए। मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूले लाभ लिने आयोगले जानकारी दिएको छ।

तस्बिर: नागरिक न्युज 

आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महसुलमा औसतमा २.८४ प्रतिशतले महसुल घटाएको छ। आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ। त्यस्तै मासिक ४ सय युनिटमाथि विद्युत् खपत गर्ने उपभोक्ताहरूको इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटेको छ।

आयोगले आन्तरिक रूपमा विद्युत् खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिएर मासिक १५१ युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्होजस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महसुल दर साबिकको भन्दा कम गरेको छ । त्यस्तै, सिँचाइका ग्राहकको महसुल दर पनि घटाएको छ भने यसपटक सिँचाइका ग्राहकले सबैभन्दा बढी लाभ पाएका छन्। उनीहरूको महसुल औसतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो। २३०÷४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको अध्यक्ष सिंहले बताए। 

आयोगले व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक–फरक महसुल तिर्नुपर्नेछ। यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो। आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ।

त्यसैगरी, सिँचाइका ग्राहकको महसुल पनि घटेको छ। आयोगले स्ल्याबलाई ६ वटामा झार्ने निर्णय गरेको छ। यसले इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने आयोगको दाबी छ। अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिटभन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ। अब महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ। यीभन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ।
 

Views: