d

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्ने, पालिकास्तरमै टोली खटाइने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा अर्को कुनै उपयुक्त समयमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाइने जानकारी दिए । उनल भने, ‘आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानूनी व्यवस्थालाई टेकेर आउँदो मङ्सिर मसान्त अभियान सम्पन्न गर्ने हेतुले मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गरिनेछ ।’
जनताको घरदैलो नजिक पुगेर सेवा प्रदान गर्ने क्रममा आयोगले नामावली सङ्कलन गाउँपालिकाको केन्द्रमै दर्ता टोली खटाएर गराउन लागेको हो । मतदाता नामावलीमा नाम दर्ताका लागि १८ वर्ष पुगिसकेका व्यक्तिले पालिका केन्द्रमा आउने टोलीसमक्ष नेपाली नागरिकताको प्रमाणपत्र देखाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
अभियानमा नाम दर्ताका सन्दर्भमा १६ वर्ष उमेर पुगेका व्यक्तिकोसमेत नाम दर्ता र तस्वीर खिच्ने काम हुनेछ । निर्वाचनका लागि मतदाता नामावली सबैभन्दा प्राथमिक विषय मानिएकाले आयोगले विशेष अभियानमार्फत मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।

Views: